मुख्यमन्त्री शाह पुनः काठमाडौंमा, कहिले हुन्छ मन्त्रीपरिषद् विस्तार?
धनगढीः मन्त्रीपरिषद्मा सहमति जुटाउन सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह पुनः काठमाडौंमा पुगेका छन्। उनी प्रदेश सरकारका २ मन्त्री भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा र आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीसहित सोमवार साँझ काठमाडौं पुगेका हुन्।
मन्त्रीपरिषद् विस्तारमा छलफल गर्न साथै शीर्ष नेताहरूसँग सहयोग माग्न उनी पुनः काठमाडौं गएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। एक साताअघि पनि मुख्यमन्त्री शाह मन्त्री मण्डल विस्तारलाई लिएर काठमाडौं पुगेका थिए। त्यसताका उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतका नेताहरूसँग भेटघाट गरेका थिए।
निर्वाचन भएको पाँच महिना भइसक्दा पनि सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन। सत्ता गठबन्धनका दुई घटक नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टी सरकारमै सहभागी भएका छैनन् भने मुख्यमन्त्रीसहित तीन जना मन्त्रीले प्रदेश सरकार चलाइरहेका छन्। निर्वाचन भएको पाँच महिनाभित्र सुदूरपश्चिममा दुइटा सरकार बने तर दुइटै सरकारले पूर्णता भने पाउन सकेको अवस्था छैन्।