सुदूर नेपाललाई विश्वसँग जोड्दै

विगतमा झैं दबाबमा छानबिन सामसुम नगर्न गृहमन्त्रीलाई नेकपा एसको सुझाव

२०८० जेठ ३, ०५:३० खबर संवाददाता

धनगढीः  नेकपा एकीकृत समाजवादी पार्टीले नक्कली भुटानी शरणार्थी काण्ड सम्बन्धी अपराधको सम्पूर्ण संजाललाई कानूनको घेराभित्र ल्याई कारवाही गर्न सरकारसमक्ष माग गरेको छ।

नेकपा एसका मोर्चा संगठन प्रमुख विजय पौडेलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै दोषिलाई कारवाही गर्न माग गरेका हुन्। ज्ञापनपत्रमा भनिएको छ, ‘देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई विक्री गर्नु मानव बेचविखनको कार्यमात्र होईन राष्ट्रप्रतिको धोका र राष्ट्रद्रोही कार्य भएको छ।

यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गंभीर क्षति भएको छ, अन्तराष्ट्रिय बेइज्जती भएको छ।’ यस काण्डमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारी लगायतका मानिसहरूको भ्रष्ट कृयाकलापलाई आधार बनाएर विभिन्न आवरणका शक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने र विविध षडयन्त्र गर्ने काम गरिरहेको उल्लेख गरेका छन्।

‘विगतका धेरै भ्रष्टाचार काण्डहरू यत्तिकै बीचैमा सामसुम पारिएका हुँदा आम जनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको छैन भन्ने गंभीर आशंका जन्मिएको छ। हाम्रो पार्टी यो विषयप्रति धेरै नै संवेदशील छ र गम्भीरतापूर्वक अध्ययन गरिरहेको छ।

कुनै पनि प्रकारको मिलोमतोमा अपराधीलाई उन्मुक्ति दिई जनताको भावनामाथि खेलवाड गर्न थालियो भने त्यो देश र जनतामाथि थप कुठाराघात मात्र हुनेछ भनी हामी सरकारलाई सचेत गराउन चाहन्छौं ज्ञापनपत्रमा भनिएको छ। सरकारका अपराध अनुसन्धानमा खटिएका सबै निकायले दृढताापूर्वक अनुन्धानलाई अगाडि बढाउन् तथा अपराधीमाथि मुद्दा दायर गर्ने निकायले मुद्दालाई कमजोर बनाउने काम नगर्न आग्रह गरेका छन्।

भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि कार्वाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस