एमालेले स्वास्थ्य विश्वविद्यालयबारे सुदूरपश्चिम सरकारको धारणा माग्यो
धनगढीः कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको बारेमा एमालेले सुदूरपश्चिम सरकारको धारणा माग गरेको छ। सुदूरपश्चिम प्रदेश सभाको आइतवाको बैठकमा प्रदेश सभा सदस्य धर्मराज पाठकले सुदूरपश्चिम प्रदेश सरकारको धारणा माग गरेका हुन्।
संघीय सरकारले आफ्नै नीति तथा कार्यक्रम विपरीत प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय श्ययाको अस्पताल सञ्चालन गर्न बजेट विनियोजन गरेपछि सुदूरपश्चिम सरकाररको धारणा माग गरिएको हो।
पाठकले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै प्रदेशवासी आन्दोलित भएका बेला प्रदेश सरकारले कुनै धारणा नआएको भन्दै धारणा सार्वजनिक गर्न माग गरेका हुन्। पाठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको समर्थन रहेको समेत बताए। उनले भने, ‘गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता छ। तर, यसबारे प्रदेश सरकारको धारणा के हो ?’ हामीले यसअघिको बैठकमा पनि सरकारको धारणा मागेका थियौँ। तर, अहिलेसम्म केही आएको छैन। सभामुख महोदय धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन गरियोस्।’
गत माघ २९ गतेको संघीय मन्त्रिपरिषद् बैठकले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। सरकारको नीति तथा कार्यक्रममा पनि विश्वविद्यालय सञ्चालन गर्ने भनिएको छ। तर, जेठ १५ गतेको संघीय सरकारको बजेटमा भने सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अघि बढाउने र एक सय श्ययाको अस्पताल सञ्चालन गर्ने उल्लेख भएपछि सुदूरपश्चिममा आन्दोलन सुरु भएको हो।
कैलालीको गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्ताल छ। आमहड्तालका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ।