सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियाली उड्डयन प्रमुखले दिए राजीनामा

२०७५ साउन १६, ०७:५७

 झण्डै चार वर्षअघि बेपत्ता भएको मलेसियाली विमानसेवाको एउटा यात्रुवाहक विमानका सम्बन्धमा सोमबार औपचारिक प्रतिवेदन सार्वजनिक भएपछि मलेसियाको नागरिक उड्डयन निकायका प्रमुखले राजीनामा दिएका छन्।
उक्त एम एच थ्री सेभेन्टी यात्रुवाहक विमानमा दुईसय उनन्चालिसजना सवार थिए। एउटा वक्तव्य जारी गर्दै मलेसियाको नागरिक उड्डयन कार्यालयका प्रमुख अजहरुद्दिन अब्दूल रहमानले भनेका छन्, "सोमबार प्रकाशित प्रतिवेदनमा एअर ट्राफिक कन्ट्रोलले स्थापित संचालन प्रणालीको पालना गर्न असफल भएको उजागर भएको थियो।"
उक्त यात्रुवाहक विमान बेपत्ता भएपछि स्थापित आपत्कालिन कार्य प्रणाली अनुसार एअर ट्राफिक कन्ट्रोलरहरुले अधिकारीहरुलाई सचेत गराएको र नियमित रुपमा अनुगमन प्रकृया संचालन गरेको भन्ने अभिलेख कतै फेला नपरेको बताइएको थियो।
उक्त विमान बेपत्ता भएको २० मिनेट पछि मात्रै अधिकारीहरुलाई त्यसबारेमा सावधानी संकेत पठाइएको थियो।
उक्त विमान मलेसियाको कुआला लम्पुरबाट चीनको बेइजिंग तर्फको उडानमा रहेको थियो र सम्भवत: दक्षिणी हिन्द महासागरमा खस्न पुगेको हुनसक्ने ठानिएको छ।
सोमबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनले भनेको छ, "उक्त बेपत्ता विमानलाई जानाजान नै निर्धारित बाटोबाट विचलित तुल्याउन खोजिएको हुनसक्ने प्रमाण फेला परेको छ, तर त्यसका लागि को जिम्मेवार थियो भन्ने चाहिं अझै अस्पष्ट नै छ। "
उक्त विमानलाई पत्ता लगाउन जारी औपचारिक खोजी कार्य गत मे महिनामा बन्द गरिएको थियो। तर मलेसियाको नयां सरकारले थप विश्वसनीय प्रमाणहरु फेला परेमा खोजी कार्य पुन: संचालन गर्न सकिने बताएको छ।
सोमबार प्रकाशित प्रतिवेदनप्रति प्रतिक्रिया जनाउंदै अजहरुद्दीन अब्दुल रहमानले आफूले यस विषयमा निकै सोचविचार गरेर गहिरो दु:खका साथ मलेसियाको नागरिक उड्डयन प्राधिकरणको अध्यक्ष पदबाट राजनीमा दिएको बताएका छन्।

कमेन्ट लोड गर्नुस