कलिलै उमेरमा चर्चा कमाउँदै गौरी
नेपाली संगीत क्षेत्र विविध आयमहरुको संयुक्त थलो हो । थुप्रै प्रकृतिका सांगीतिक स्वादहरु नेपाली संगीत क्षेत्रमा अटाउँछन् । तिनै मध्येको एउटा फरक पहिचान बनाउन सफल छ देउडा संगीत । संख्यात्मक रुपले देउडा गीत कमै उत्पादन भएपनि देउडा संगीतमा लाग्नेहरुको जमात भने कम छैन् । त्यहि जमातमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छन् धनगढीकी गायिका गौरी भट्ट । डडेल्धुराको अलितालमा जन्मिएकी गौरीको बाल्यकाल डडेल्धुरामै बितेको भएपनि हाल भने स–परिवार कञ्चनपुर बसाई सरकोे छ । एक बर्ष अगाडी मात्रै विवाह बन्धनमा बाँधिएकी भट्टको उमेर अहिले २० बर्ष पुगेको छ भने साङगितिक क्षेत्रमा पाईला टेकेको ४ बर्ष हुनै लागेको छ । तर उपलव्धी दशक बढी समय साङगितिक क्षेत्रमा विताईसकेका कलाकारको भन्दा कम छैन् ।
छोटो अवधि र कलिलो उमेरमा नै गायिका गौरी भट्टले लोक, देउडा क्षेत्रलाई दर्जनौ गीत उपहार दिईसकेकी छन् । संगीत प्रति रुचि सानैदेखि थियो, चर्चित गायक गायिकाहरुका गीत सुन्ने र हुवहु गाउने प्रयास पनि सानै उमेरवाट सुरु भयो । तर पनि कलाकारिता क्षेत्रमा अगाडि बढ्न त्यति सजिलो त छैन । छोरी मान्छे भएर पनि होला गौरीलाई समाजले सजिलै गायिका रुपमा पचाउन पनि चाहन्थेन् । तर जहाँ ईच्छा त्यहाँ उपाय भने झै बाल्यकालमा रेडियोतिर वज्ने लोक तथा डेउडा गीतहरूको सिको गर्ने बानीले भट्टलाई गायिका वनाईदिएको हो ।
२०७१ साल फागुन ५ गतेको दिन जव भट्टले आफ्नो पहिलो गीत रेकर्डिङ गर्ने मौका पाईन अनि सुरु भयो, भट्टको साङगितिक यात्राको सुरुवात । १७ बर्षको उमेरमा गीत गाउदाँको क्षण र उक्त गीतले पाएको सफलतापछि भट्टलाई अहिलेसम्म गीत गाउनका लागि अफर आउने क्रम घटेको छैन् । लोक देउडा गायिका भट्ट डेढ बर्ष अगाडी वैवाहिक जीवनमा प्रवेश गरेपछि धेरैले आकंलन गरेका थिए भट्टले अब गायन क्षेत्र छोडेको होला भनेर तर विवाहपछि पनि घर–परिवार र श्रीमानको पनि उत्तिकै साथ पाएकी छन् जति भट्टलाई जन्मदिने आमावुवाले साथ दिएका थिए । त्यसैले पनि होला भट्टले विवाहपछि पनि २ सय ७८ गीतमा स्वर दिईसकेकी छन् भने अहिले आफ्नो गायन यात्रालाई राजधानी काठमाडौ गएर अगाडी बढाईरहेकी छन् ।
मोफसलमै वसेर आफ्नो साङगीतीक क्षेत्रमा अगाडी बढिरहेकी भट्टको परिचय भने स्थानीय कलाकारको रुपमा हुन्छ । भट्ट भन्छिन, राजधानीमा बसेर यिनै गीत गाएको भए सायद राष्ट्रिय कलाकारको दर्जा पाउने थिए । गायिका भट्टले २० बर्षको उमेरमा २ सय ७८ लोक, देउडा गीतमा स्वर दिईसकेकी छन्, त्यसमा केही गीतहरु सुदुरपश्चिम मात्रै नभएर सिङगो देशभरी पनि चर्चामा छन् ।