कस्तो अवस्थामा हुन्छ असुरक्षित गर्भपतन ?
गर्भपतन गर्नुलाई हामीकहाँ कानुनी मान्यता दिइएको छ । यसको अर्थ यो होइन कि, गर्भपतन गर्नु सही हो । वा यो कुनै समस्याको समधान हो ।
खासमा वाध्यकारी अवस्थामा गर्भपतन गराउने हो । अनिच्छित गर्भ रहेमा वा कुनैपनि किसिमको गर्भ, जसलाई जन्माउन अनुचित हुन्छ । त्यस्ता गर्भलाई हुर्कन नदिइ पतन गराइन्छ । कुनैपनि जटिलता निम्त्याउने अवस्थामा गर्भपतन गर्न सकिन्छ ।
तर, पछिल्लो समय कस्तो प्रवृत्ति देखिएको छ भने, मानौं गर्भपतन गराउनु सामान्य कुरा हो । यो जोकोहिले, जुनसुकै समयमा गराउन सकिन्छ । अहिले भित्रभित्रै गर्भपतन गराउने धन्दा पनि मौलाएको छ ।
गर्भपतन निश्चित अवस्थामा, निश्चित अवधीमा, निश्चित विधि पुर्याएर गरिने एउटा प्रक्रिया हो । जथाभावी वा जुनसुकै अवस्थामा गर्भपतन गराउँदा त्यो निकै ठूलो संकटको रुपमा पनि देखापर्न सक्छ । त्यसैले यस्ता कुरामा सर्तक भएकै राम्रो हो ।
असुरक्षित गर्भपतनको जटिलता
धेरैजसो महिलालाई असुरक्षित गर्भपतनबारे कुनै जानकारी हुँदैन । यहाँसम्म की उनीहरुलाई गर्भपतन पश्चात्त हुने जोखिमका बारेमा समेत जानकारी हुँदैन ।
त्यसो त गर्भपतन प्रसव वेदनाभन्दा कम हुँदैन । र, तालिम नलिएका स्वास्थ्यकर्मीबाट अ सुरक्षित गर्भपतन गरेको छ भने त चिन्ता झनै बढ्ने गर्छ ।
विशेषगरी तालिम नलिएका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाबाट असुरक्षित तरीकाले गर्भपतन गर्नु नै असुरक्षित गर्भपतन हो ।असुरक्षित गर्भपतन गर्नेसित न त कुनै प्रशिक्षण लिएको प्रमाणपत्र हुन्छ, न त उनीहरु अनुभवी नै हुन्छन् ।
कानुनले पनि यस्ता व्यक्तिलाई मान्यता दिदैन । असुरक्षित गर्भपतनकै कारण पेट दुख्ने, पेटको संक्रमण, बाझोपना लगायतका समस्या निम्तने गर्छ । यतिसम्मकी मानिसको मृत्यु समेत हुनसक्छ ।
कस्तो अवस्थामा गर्भपतन गराउने ?
नेपालमा गर्भपतनले सन् २००२ मा कानुनी मान्यता प्राप्त गरेको छ ।
जस अनुसार महिलाकोे मञ्जुरीमा १२ हप्तासम्मको गर्भ, जर्बजस्ती करणी र हाडनाता करणाीबाट रहन गएको १८ हप्तासम्मको गर्भ र गर्भपतन नगराएमा गर्भको कारणले महिलाको जीवन र स्वास्थ्यमा खतरा आउने भएमा, शारीरीक तथा मानसिक रुपले महिलाको स्वास्थ्यमा असर पर्ने भएमा र विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्य चिकित्सकको राय तथा सुझावले जुनसुकै अवधिको गर्भ गर्भपतन गर्न पाइने व्यवस्था छ ।
नेपालमा गर्भपतनले कानुनी मान्यता पाएसँगै नेपालको मातृ मृत्यु दरमा निकै कमी आएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण ०१६ अनुसार नेपालमा हाल प्रति १००,००० जिवित आमामा २३९ जनाको मृत्यु हुने गरेको छ ।
यो संख्या बीस वर्ष पहिले ५४३ रहेको थियो । जबकी नेपाल स्वास्थ्य रणनिति २०२१ ले मातृ मृत्युदर प्रति एक लाख जिवित जन्ममा १२५ मा झार्ने लष्य लिएको छ ।
किन हुन्छ गर्भपतन ?
गर्भपतन विभिन्न कारणले हुनसक्छ । कहिले गर्भवती महिलाको ज्यान बचाउन गर्भपतन गराउनुपर्छ भने कहिले गर्भमा रहेका शिशुमा कुनै विकार भएमा पनि गर्भपतन गर्न जरुरी हुन्छ ।
यद्यपी, हाम्रो जस्तो समाजमा लिङ्गको आधारमा गर्भपतन गर्ने चलन बढ्दो छ । विशेषगरी, छोरा पाउने नाममा धेरैले गर्भपतन गरेको पाइन्छ भने अर्कोतिर संकुचित मानसिकता, अशिक्षा तथा गर्भनिरोधक चक्कीको प्रयोगबारे जानकारी नहुदाँ पनि गर्भपतन गर्ने क्रम बढ्ने बढ्दो छ ।
ग्रामीण भेगहरुमा धेरैजसो गर्भपतन यस्ता मानिसहरुद्धारा हुने गर्छ, जसले सरकारी मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट आवश्यक तालिम लिएका हुँदैनन् । जसका कारण असुरक्षित गर्भपतनको संख्यामा वृद्धि हुने गर्छ ।
गर्भवती भएकैमध्य पनि करिब १५ प्रतिशत महिलाहरुमा कुनै न कुनै प्रकारका जटिलता सिर्जना हुन्छ । त्यस्ता जटिलताकै कारण नेपालमा हुने मातृ मृत्यु दरमध्य अधिकांश मृत्यु अत्याधिक रक्तश्रावका कारण हुने गर्छ ।
त्यसबाहेक, रक्तअल्पत्रा तथा कुपोषणका कारण पनि गर्भवती महिलाको मृत्यु हुने गर्छ । यसबाहेक, असुरक्षित गर्भपतनका कारण पनि धेरै महिलाहरुको मृत्यु हुने गरेको छ ।