सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिपुलेक-लिम्पियाधुराबारे परराष्ट्रमन्त्री खनालले राष्ट्रिय सभामा के भने?

२०८३ असार १७, ०४:३२ खबर संवाददाता

काठमाडौँः परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै पनि प्रकारको सम्झौता नभएको स्पष्ट पारेका छन्।

राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यससम्बन्धी सार्वजनिक रूपमा फैलिएका चर्चाहरू निराधार र असत्य रहेको बताए। 'मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने विषयमा कुनै सत्यता छैन,' मन्त्री खनालले भने, 'यो क्षेत्रमा खानी उत्खननसम्बन्धी कसैसँग पनि कुनै सहमति वा सम्झौता गरिएको छैन।'

उनले नेपालको संविधान २०७२ को धारा २८९ अनुसार प्राकृतिक स्रोत र त्यसको उपयोगसम्बन्धी व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गरे। नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलका सिद्धान्तविपरीत हुने गरी कुनै पनि सम्झौता नगर्ने कुरा स्पष्ट रहेको उनले बताए। साथै, खानी विभागले आवश्यक प्रक्रिया र कदम चाल्ने जानकारी पनि दिए।

यसै क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल–भारत सीमासम्बन्धी विषयमा पनि धारणा राखे। उनले दुई देशबीचको द्विपक्षीय प्राविधिक समितिले धेरै भू–भागको सिमांकन टुङ्ग्याइसकेको भए पनि लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्ता क्षेत्रमा अझै सिमांकन हुन नसकेको बताए।

'ती क्षेत्रमा प्राविधिक टोलीबाट सिमांकन नभएको तथ्य हो,' उनले भने, 'तर हामी स्पष्ट छौँ—ती भूभाग नेपालकै हुन्। हामीसँग ऐतिहासिक आधार, प्रमाण र नक्साहरू छन्।' यही विषय भारतका समकक्षीसँगको भेटमा पनि उठाएको र ऐतिहासिक तथ्य तथा प्रमाणका आधारमा कूटनीतिक संवादमार्फत विवाद समाधान गर्न चाहेको उनले बताए।

कमेन्ट लोड गर्नुस