रुसी सेनामा नेपालीलाई भर्ना नगर्न परराष्ट्रमार्फत रुसलाई ’कूटनीतिक नोट’
काठमाडौँः रुस–युकेन युद्धमा खटिने गरी नेपाली नागरिकहरू रुसी सेनामा भर्ती भएको खबरपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कडाइ गर्न थालिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दुई देशबिच सम्झौता भएका विद्यार्थीबाहेक भिजिट भिसामा जाने, अरु ढंगले जाने सबैलाई कडाइ गरिएको बताए। जसअनुसार सरकारले मातहतका निकायलाई सर्कुलर गरेको र सोहीअनुसार विमानस्थलमा कडाइ गरिएको उनले बताए।
आचार्यका अनुसार सरकारले परराष्ट्र मन्त्रालयमार्फत रुसलाई त्यहाँको सेनामा नेपाललाई भर्ती नगर्न कूटनीतिक नोट समेत पठाएको छ भने भर्ना भएकाहरूलाई पनि फिर्ता पठाउन आग्रह गरिएको छ। ‘दुई देशबिच एमओयू भएका वा विद्यार्थीबाहेक भिजिट भिसामा जाने वा अरु ढंगले जाने सबैलाई रोक लगाइएको छ र यसबारे मातहतका निकायमा सर्कुलर गरिएको छ’, आचार्यले भने।
‘परराष्ट्र मन्त्रालयमार्फत रुस सरकारसँग कूटनीतिक नोट पनि पठाइएको छ। नेपालको परम्परागत रुपमा सम्झौता भएका देशबाहेक अन्य देशमा सैन्य संगठनमा पठाउने सरकारको नीति नभएकाले भर्ना नगर्न र भर्ना भएका भए पनि फिर्ता पठाउन नोट पठाइएको छ।’ रुसी सेनामा भर्ना भएर नेपाली समस्यामा परेको खबरपछि सरकारले यस प्रकरणलाई गम्भीरतापूर्वक छानबिन गरिरहेको छ। सोहीअनुसार रुसमा नेपाली पठाउने कार्यमा संलग्न व्यक्तिहरू धमाधम समातिन थालेका छन्।