सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दक्षिणी क्षेत्रमा बढ्दो लागुऔषध कारोबारप्रति चिन्ता, जिम्मेवार निकायसँग जवाफ माग

२०८३ कार्तिक २९, ०५:४३ खबर संवाददाता

धनगढी : कञ्चनपुरको दक्षिणी भेगमा पर्ने बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रमा लागुऔषधको समस्या बढ्दै गएको भन्दै स्थानीय सूरज चन्दले जिम्मेवार निकायसँग जवाफ मागेका छन्। लागुऔषधको दलदलमा युवाहरू फस्दै गएको, कारोबारमा संलग्न युवा पक्राउ पर्ने क्रम बढेको र यसले परिवार तथा समाजमा नकारात्मक असर पारिरहेको भन्दै उनले जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल तथा सामाजिक संघसंस्थाको ध्यानाकर्षण गराएका हुन्।

बेलौरी नगरपालिका–१ निवासी चन्दले सार्वजनिक रूपमा खुला प्रश्न उठाउँदै लागुऔषध नियन्त्रणका लागि विगतमा भएका प्रयास, विनियोजित बजेट र प्राप्त उपलब्धिको विवरण सार्वजनिक गर्न माग गरेका छन्। उनका अनुसार लागुऔषध ओसारपसारमा स्थानीय युवाहरू पक्राउ पर्ने घटना दोहोरिँदै आए पनि कारोबारको मुख्य सञ्जालसम्म पुग्न नसकिएको विषय गम्भीर छ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यसँग लागुऔषध नियन्त्रणका लागि संघ तथा प्रदेश सरकारबाट कति बजेट र कार्यक्रम ल्याइयो, खुला सीमाबाट हुने ओसारपसार रोक्न के पहल गरियो र पुनःस्थापना केन्द्र स्थापनाका लागि कस्तो भूमिका खेलियो भन्ने प्रश्न गरेका छन्।
त्यस्तै, बेलडाँडी, बेलौरी र पुनर्वासका स्थानीय तहका पूर्व तथा वर्तमान जनप्रतिनिधिसँग आफ्नो कार्यकालमा लागुऔषध नियन्त्रणका लागि बनेका कार्ययोजना, विनियोजित बजेट, खर्च र त्यसबाट प्राप्त परिणाम सार्वजनिक गर्न आग्रह गरेका छन्।

सुरक्षा निकायप्रति प्रश्न उठाउँदै चन्दले सीमा क्षेत्रबाट हुने लागुऔषध ओसारपसार नियन्त्रणका लागि चालिएका कदम र मुख्य कारोबारीमाथि भएका कारबाहीको विवरण सार्वजनिक गर्न माग गरेका छन्। पक्राउ परेका युवालाई मात्र कारबाही गरेर समस्या समाधान नहुने भन्दै कारोबारको मुख्य सञ्जाल पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

उनले राजनीतिक दल तथा नेताहरूलाई चुनावका बेला गरेका प्रतिबद्धता सम्झाउँदै लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई संरक्षण नगर्ने सार्वजनिक प्रतिबद्धता जनाउन पनि आग्रह गरेका छन्। आगामी निर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिहरूले युवालाई शिक्षा, सीप र रोजगारीसँग जोड्ने तथा लागुऔषध दुर्व्यसनमा फसेकाहरूको उपचार र पुनःस्थापनाका लागि समयसीमासहितको ठोस योजना सार्वजनिक गर्नुपर्ने उनको माग छ।

चन्दले समाजसेवी, शिक्षक, पत्रकार तथा विभिन्न संघसंस्थाले सञ्चालन गर्ने सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। त्यस्ता कार्यक्रम फोटो र ब्यानरमा मात्र सीमित नभई प्रभावित युवा र तिनका परिवारलाई दीर्घकालीन सहयोग पुग्ने गरी सञ्चालन हुनुपर्ने उनको भनाइ छ।

उनले संघ, प्रदेश र स्थानीय सरकारले विगतका कार्ययोजना, बजेट तथा उपलब्धि सार्वजनिक गर्नुपर्ने, असफलताका कारण पहिचान गर्नुपर्ने र आगामी योजनामा जिम्मेवार निकाय, बजेट तथा समयसीमा स्पष्ट तोक्नुपर्ने माग गरेका छन्। साथै, सुरक्षा निकाय, विद्यालय, अभिभावक, व्यवसायी, पत्रकार र नागरिक समाजको सहभागितामा संयुक्त लागुऔषध नियन्त्रण अभियान सञ्चालन गर्नुपर्ने तथा युवाका लागि सीपमूलक तालिम, रोजगारी र पुनःस्थापना केन्द्रको व्यवस्था गर्नुपर्ने उनको आग्रह छ।

‘अब चिन्ता व्यक्त गरेर मात्र पुग्दैन, काम, जवाफ र परिणाम चाहिन्छ,’ चन्दले उठाएको सार्वजनिक प्रश्नमा उल्लेख छ। युवाको भविष्य सुरक्षित गर्नु सबैको साझा जिम्मेवारी भएको भन्दै उनले सम्बन्धित निकायलाई यस विषयमा गम्भीर बन्न आग्रह गरेका छन्।

कमेन्ट लोड गर्नुस