सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुख्यमन्त्रीलाई विश्वासको मत दिन्छौ: वन मन्त्री खुसीराम

२०८० चैत्र १५, ०३:१९ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री खुसीराम डगौरा थारूले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने बताएका छन्।

बिहिवार मन्त्रीको पदभार ग्रहण गर्दै वन मन्त्री खुसीरामले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका हुन्। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री नियुक्त भएका डगौराले भने, ‘हामी विश्वासको मत दिन्छौ। एक मतका साथ अगाडि बढ्छौ। हामी यो सरकारलाई निरन्तरता दिने पक्षमा छौ। हामीले औपचारिक निर्णय गरेका छौ।’

मन्त्रीको पदभार ग्रहण गर्दै मन्त्री खुसीराम डगौराले नेपालको संविधान २०७२ अनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारको सबैको अ–आफ्नो स्वायत्तता रहेको बताए। उनले भने, ठुलो विवाद छैन।  सरकारमा सामेल हुने औपचारिक निर्णय भएको छ। सरकारको समर्थन फिर्ता लिने कुरा अध्यक्ष ज्यूलाई साध्नु होला। तर, हामीले सरकारमा जाने औपचारिक निर्णय गरेको विषय हो।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री नियुक्त गरेका नागरिक उन्मुक्ति पार्टीका २ जनाले बिहिवार पदभार ग्रहण गरेका हुन।  नागरिक उन्मुक्ति पार्टीबाट सामाजिक विकास मन्त्रीमा लक्ष्मण किशोर चौधरी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा खुसीराम डगौरा थारूले बिहिवार पदभार ग्रहण गरेका छन्।

सुदूरपश्चिममा काँग्रेस नेतृत्वको प्रदेश सरकार सङ्कटमा रहेका बेला नागरिक उन्मुक्ति पार्टीका मन्त्रीहरू थप गरिएको थियो। प्रदेशमा राप्रपा र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यलाई समेत मन्त्री नियुक्त गर्ने र विश्वासको मत लिने योजनामा मुख्यमन्त्री शाह रहेका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस