सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र भारतका विदेश सचिवस्तरीय द्विपक्षीय बैठक सम्पन्न

२०८३ कार्तिक १८, ०६:१९ रासस

काठमाडौँ: नेपाल र भारतका विदेश सचिवस्तरीय द्विपक्षीय बैठक आपसी हितका विविध विषयमा छलफल गर्दै सम्पन्न भएको छ।

परराष्ट्रसचिव अमृतबहादुर राई र भारतका विदेश सचिव विक्रम मिश्रीबीच प्रतिनिधिमण्डलस्तरीय बैठक आज यहाँ भएको हो। बैठकमा नेपाल र भारतबीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ र फलदायी बनाउने विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

बैठकमा आगामी उच्चस्तरीय भ्रमणको तयारी, हवाई, रेल, सडक तथा पुललगायतका पूर्वाधारमार्फत सम्पर्क सञ्जाल विस्तार र सुदृढीकरण तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा सहजीकरणका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राससलाई जानकारी दिए।

यसैगरी बैठकमा विकास सहकार्यलाई थप प्रभावकारिता बनाउने, ऊर्जा क्षेत्रमा विद्यमान सहकार्यलाई थप विस्तार र सुदृढीकरण र दुई देशका जनताबीचको सम्बन्ध र आपसी सम्पर्कलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको उनले बताए। यसबाहेक बैठकमा नेपाल–भारत सम्बन्धका समग्र आयामहरूमा समेत छलफल भएको थियो।

परराष्ट्रसचिव राईको मैत्रीपूर्ण निमन्त्रणामा विदेश सचिव मिश्री नेपालको औपचारिक दुई दिने भ्रमणका लागि आज यहाँ आइपुगेका हुन्।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले आजै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र पूर्वाधार मन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए।

विदेश सचिव मिश्रीले भोलि बिहान प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेट गर्ने बताइएको छ। विदेश सचिव मिश्री नेपाल भ्रमण सम्पन्न गरी भोलि नै दिन नयाँदिल्ली फिर्ता हुने कार्यक्रम रहेको छ।

कमेन्ट लोड गर्नुस