सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनसुन सुरु हुन अझै केही दिन लाग्ने

२०८१ जेठ १९, ०३:०९ खबर संवाददाता

काठमाडौंः यस वर्षको मनसुन सुरु हुन अझै केही दिन लाग्ने भएको छ। नेपाल प्रवेश गर्ने मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बंगलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको छ।

नेपालको पूर्वी भू–भागमा मनसुन भित्रिन अझै केही दिन लाग्ने देखिएको जल तथा मौसम विज्ञान विभागले भनेको छ। हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्छ। मनसुनी प्रणाली नेपाल भित्रिने औसत मिति जुन १३ हो। तर, यो औसत मिति मात्र हो। योभन्दा अगाडि वा पछाडि पनि मनसुन नेपाल भित्रिनसक्छ।

मनसुनी प्रणाली नेपालतर्फ अगाडि बढ्नेक्रममा छ। तर यो कहिले नेपाल आइपुग्छ यकिन गर्न नसकिने मौसमविद् गोविन्द झा बताउँछन्। बाटोमा देखिने अवरोधका आधारमा यो प्रणाली नेपाल आउन कति समय लाग्छ निर्धारण हुने उनको भनाइ छ। कुनै अवरोध नभए चाँडै र अवरोध भए केही समय ढिलो पनि हुनसक्ने उनी बताउँछन्। दक्षिण–पूर्वी क्षेत्रबाट मनसुनी प्रणाली नेपाल भित्रिएपछि पनि यो नेपालभर फैलिन कतिसमय लाग्छ भन्ने हो, उनले भने।

कुनै वर्ष पश्चिमतर्फ सर्नेक्रममा बाटोमा अवरोध नभए चाँडै र अवरोध भए देशभर फैलिन पनि केही समय लाग्छ। सन् १९९६ मा मनसुनी प्रणाली मे ३१ मा नेपाल भित्रिएको थियो। त्यो वर्ष जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्ने गरेयताकै यो सबैभन्दा चाँडो मनसुन नेपाल भित्रिएको हो। सन् १९८२ मा नेपालमा जुन २७ मा नेपालमा मनसुन भित्रिएको थियो। विभागको तथ्यांकअनुसार यो सबैभन्दा ढिलो मनसुन भित्रिएको हो।

कमेन्ट लोड गर्नुस