नवलपरासीमा बस र हायस ठोक्किँदा १ जनाको मृत्यु, ९ घाइते
नवलपरासीः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवास जंगल क्षेत्रमा बस र ईभी हायस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ।
९ जना घाइते छन्। विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीवासस्थित डिभिजन वन कार्यालयनजिकै यात्रुवाहक बस र ईभी हायस एकापसमा ठोक्किँदा भारतको पश्चिम बंगाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकरको मृत्यु भएको हो। हायसमा सवार नौजना घाइते रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए। काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको ईभी हायस एकापसमा ठोक्किएका हुन्। हायसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।