सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमती ममताको शव टुक्राटुक्रा पारेको नरेश भट्टद्वारा अदालतमा स्वीकार

२०८३ कार्तिक १९, ११:४१ खबर संवाददाता

धनगढी: अमेरिकामा ममता काफ्ले भट्टको बेपत्ता तथा हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्। हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बिहीबार अदालतमा बयान दिँदै भट्टले सन् २०२४ जुलाई ३० को बिहान शयनकक्षको भुइँमा ममतालाई मृत अवस्थामा फेला पारेपछि शव टुक्र्याएको बताएका हुन्।

भट्टका अनुसार ममताको मुख र भुइँमा बान्ता देखिएको थियो। त्यसमा रगत, खानाका टुक्रा, क्याप्सुल र कीटनाशक विषादीका रूपमा प्रयोग हुने ‘सेलफोस’ का अवशेष रहेको उनले दाबी गरेका छन्।

उनले ममतालाई छामेर हेरेको, बोलाउने प्रयास गरेको र सीपीआरलगायतका जीवनरक्षक उपाय अपनाएको पनि अदालतमा बताएका छन्। तर, त्यसपछि शव टुक्र्याउने निर्णय गरेको र सुरुमा खुट्टा अलग्याउने प्रयास गरेको उनको बयान छ।

भट्टले शवलाई बाथरुममा लगेको तर शारीरिक रूपमा कमजोर महसुस भएपछि पहिलो दिन त्यहीँ रोकेको बताएका छन्। त्यसपछि छोरीको हेरचाह गर्न गएको र उक्त रात डरका कारण सुत्न नसकेको उनले अदालतसमक्ष बताएका हुन्।

ममताको शव अहिलेसम्म फेला परेको छैन। भट्टमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ।

प्रहरीले उनीहरूको शयनकक्ष र बाथरुममा रगतका दाग फेला पारेको तथा कपालका टुक्रा अड्किएको विद्युतीय आरा बरामद गरेको थियो। त्यसपछि भट्टलाई पक्राउ गरिएको थियो। उनी त्यसयता हिरासतमै छन्।

कमेन्ट लोड गर्नुस