गोली प्रहार गरी लागुऔषध कारोबारी पक्राउ
झापाः झापाको कनकाई नगरपालिका–४ मा प्रहरीले गोली प्रहार गरी दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरु भारतीय हुन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार भारत बिहार राज्यको डिगल बैङ्क थाना घर भएका २८ वर्षीय अन्जार आलम र उनका भाइ १९ वर्षीय युसुब आलमलाई हिजो बेलुका पक्राउ गरिएको हो। उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३० ग्राम ६९० मिलिग्राम बरामद भएको छ।
मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ। मोटरसाइकल चालक अन्जार आलमको घुडाँमुनी गोली लागेको छ। उनको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको जनाएको छ।