सुदूर नेपाललाई विश्वसँग जोड्दै

सीमा नाका बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प

२०८२ भदौ २६, ०४:४० खबर संवाददाता

धनगढीः देशमा परिवर्तित राजनीतिक अवस्थासँगै यातायात र सीमा नाका बन्द छन्। यसले अन्तर्राष्ट्रिय व्यापार (आयात–निर्यात) ठप्प भएको छ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलाका अनुसार अहिले भारत र चीन दुवैतर्फ जाँचपास ठप्प छ। मुलुकभित्र अहिले सार्वजनिक तथा मालवाहक सवारीसाधन आवागमन बन्द छ। अर्कातर्फ, भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने यात्रुलाई अधिकांश स्थानमा रोक लगाएको छ। जसले गर्दा अत्यावश्यक वस्तु आपूर्ति समेत प्रभावित बन्न पुगेको छ।

नजिकिएको चाडबाडका लागि समेत आवश्यक सामग्री अभाव हुने देखिएको छ। चीनतर्फका नाकामध्ये रसुवागढी नाकामा मितेरी पुल नै निर्माण भएको छैन। उक्त नाका जोड्ने सडक समेत अझै सुचारु भइसकेको छैन। तातोपानी नाकामा समेत सडक सहज छैन। भारततर्फको व्यापारका लागि यातायात खुलेको छैन।

उता, राष्ट्रिय यातायात व्यवसायी महासंघले सुरक्षा प्रत्याभूति नभएसम्म सबै प्रकारका मालवाहक र सार्वजनिक यातायात चलाउन असमर्थ रहेको यसअघि नै बताइसकेको छ। भदौ अन्तर्राष्ट्रिय व्यापार बढी हुने महिना हो। दशैं र तिहारका लागि लक्षित गरी बढी सामान यसै महिना आउने गर्छन्। 
 

कमेन्ट लोड गर्नुस