सुदूर नेपाललाई विश्वसँग जोड्दै

माया मेट्रो अस्पतालमा १४० बढीको निःशुल्क फिस्टुला शल्यक्रिया, डा. कर्ण सम्मानित

२०८३ मंसिर ९, ०४:४१ खबर संवाददाता

धनगढीः धनगढीस्थित माया मेट्रो अस्पतालले एक वर्षको अवधिमा १४० भन्दा बढी मिर्गौलाका बिरामीको निःशुल्क एभी फिस्टुला शल्यक्रिया गरेको छ। आर्थिक अवस्था कमजोर भएका तथा उपचारमा सहयोग आवश्यक पर्ने बिरामीलाई लक्षित गर्दै अस्पतालले निःशुल्क शल्यक्रिया सेवा प्रदान गरेको हो।

मिर्गौलाका बिरामीलाई डायलाइसिस गर्न आवश्यक पर्ने एभी फिस्टुला शल्यक्रिया आर्थिक अभावका कारण गर्न नसक्ने अवस्थाका बिरामीलाई अस्पतालले प्राथमिकतामा राखेर सेवा दिँदै आएको जनाएको छ।

यस सेवामूलक कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै अस्पतालले कन्सल्टेन्ट युरोलोजिस्ट डा. सुमित कर्णलाई प्रशंसापत्रसहित सम्मान गरेको छ। अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले डा. कर्णलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

अस्पतालले डा. कर्णको व्यावसायिक समर्पण, सेवाभाव र निरन्तर योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न यस्ता सेवामूलक कार्यक्रमले सहयोग पुग्ने अस्पतालको विश्वास छ।

कमेन्ट लोड गर्नुस