माटो बन्दै बाह्रवनको काठ, १२ वर्षसम्म पनि बिक्री भएन
अत्तरिया : कैलालीको बाह्रवन साझेदारी वनमा करिब १२ वर्षअघि काटिएको काठ अझै बिक्री हुन सकेको छैन। आर्थिक वर्ष २०७१/७२ मा गरिएको कटानीपछिको काठ बिक्री नहुँदा अहिले वनमै कुहिँदै गएको छ। वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत बाह्रवनमा काटिएको ‘ए’ र ‘बी’ ग्रेडको काठ तत्कालै बिक्री भए पनि ‘सी’ र ‘डी’ ग्रेडका काठ वर्षौंदेखि वनमै थन्किएका छन्।
बाह्रवन साझेदारी वन समितिका अध्यक्ष वीरबहादुर चोखालका अनुसार वनसम्बन्धी किचलोका कारण काठ बिक्री हुने प्रक्रिया अझै अघि बढ्न सकेको छैन। उनले पुनः मूल्याङ्कन र ग्रेडिङका लागि फाइल वन कार्यालयमा बुझाइसके पनि कारवाही अघि नबढेको बताए। उनका अनुसार यसअघि पटक–पटक बोलपत्र आह्वान गर्दा पनि ठेकेदारहरूले चासो नदेखाएका कारण काठ बिक्री हुन सकेन।
“अध्यक्ष भएपछि काठको अवस्था हेर्न गएका थियौं,” उनले भने, “धेरैजसो कुकाठ कुहिएर माटो बनेको छ, कतिपय ठाउँमा त माटो पनि हराइसकेको छ। करिब १३ हजार क्युफिट कुकाठ र १२–१३ हजार क्युफिट सालको काठ बिग्रिएको छ, दाउरा बनाएर पनि प्रयोग गर्न सकिँदैन।”
वन ऐनअनुसार लिलामपछि बिक्री हुन नसकेको काठ पुनः मूल्याङ्कन र ग्रेडिङ गर्न ७ देखि १० वर्ष पर्खिनुपर्ने व्यवस्था छ। सुरुमा दर्ता गरिएको सूचीअनुसार वनमा २७ हजार क्युफिट काठ थियो, तर अहिले धेरै काठ नष्ट भइसकेको अध्यक्ष चोखालले जानकारी दिए।
उनका अनुसार पुनः ग्रेडिङपछि अधिकांश काठ ‘डी’ ग्रेडमै पनि बिक्री नहुने अवस्था आएको छ। हाल ‘सी’ ग्रेड काठको मूल्य प्रति क्युफिट ९ सय रुपैयाँ र ‘डी’ ग्रेडको ७ सय रुपैयाँ तोकिएको छ।
वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि बाह्रवन साझेदारी वनमा अनियमितता र भ्रष्टाचारका घटना पनि सार्वजनिक भएका थिए। सोही कारण २०७५ सालमा प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिले वनको अनुगमनसमेत गरेको थियो। बाह्रवन साझेदारी वन उपभोक्ता, स्थानीय सरकार र नेपाल सरकारको संयुक्त साझेदारीमा सञ्चालित छ।