पन्ज्युनयाँ क्रिकेट लिगः देवभूमि लेकम अन्तिम चारमा
बैतडीः बैतडीको दोगडाकेदारमा जारी पन्ज्युनयाँ क्रिकेट लिग–४ अन्तर्गत देवभूमि लेकम क्रिकेट टिम अन्तिम चारमा सुरक्षित भएको छ।
मंगलवार सम्पन्न क्वाटरफाइनल खेलमा न्वाली टिमलाई ४० रनले पराजित गरेर देवभूमि सेमिफाइनलमा सुरक्षित भएको हो। देवभूमिले दिएको १७३ रनको लक्ष्य पछ्याएको न्वालीले १३२ रन मात्रै बनाउन सक्यो । न्वालीका कुनै पनि ब्याटरले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्।
देवभूमिका नितेश विष्टले २ विकेट हात पारे। पन्ज्यनयाँ क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको देवभूमिले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७२ रन बनाएको थियो। प्लेयर अफ द म्याच समेत भएका नितेश विष्टले अर्धशतकीय पारी खेल्दै ६८ रनको योगदान गरे।
कूल १३ टोलीको सहभागीता रहेको प्रतियोगिताको विजेता टोलीले दुई लाख २२ हजार, उपविजेताले रु ६६ हजार पाउने आयोजक क्लबका सचिव जगदीशसिंह कार्कीले बताए। यस्तै सेमिफाइनलबाट बाहिरिने टोलीलाई १०÷१० हजार पुरस्कार दिइनेछ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ११ हजार १११, सर्वोत्कृष्ट बलर र ब्याटरलाई सात हजार सात सय ७७, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार १११ पुरस्कारको व्यवस्था रहेको छ। गत वर्ष सम्पन्न तेस्रो संस्करणको उपाधि हुनैनाथ मालिकार्जुन क्रिकेट क्लबले, दोस्रोको आयोजक सुशितम युवा क्लब र पहिलो संस्करणको दोगडास्टार क्लबले हात परेको थियो।