बैतडी काँग्रेसमा उम्मेदवार सिफारिस गर्दा सभापतिले 'एकलौटी' गरेको आरोप
बैतडीः नेपाली काँग्रेस बैतडीले आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न जिल्ला सभापति चतुरबहादुर चन्दले षडयन्त्र गरेको आरोप लागेको छ। जिल्ला सभापति चन्दले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि योजनावद्ध किसिमले आफूलाई सिफारिस गरेको अन्य आकांक्षीहरूले बताएका छन्।
फागुन २१ गते हुने निर्वाचनका लागि बैतडीबाट नेपाली काँग्रेसका नेता नरबहादुर चन्द, उत्तरबहादुर ऐर, बिरबहादुर विष्ट, तेजबहादुर चन्द र नन्दराज भट्टले जिल्ला सभापति चन्दले योजनावद्ध रुपमा आफूलाई मात्रै सिफारिस गर्ने प्रपञ्च रचेको बताएका छन्।
प्रतिनिधि सभा निर्वाचनका लागि बैतडीबाट उम्मेदवार हुने सात जना आकांक्षी रहेकामा विष्णुदत्त जोशी र चतुरबहादुर चन्दलाई पुरूषतर्फ सिफारिस गरिएको छ। आकांक्षी मध्ये पाँच जना नेताले छलफल गरेर सहमति गरेर नाम सिफारिस गर्न अडान राखे पनि सभापति चतुरबहादुर चन्दले एकलौटी गरेको असन्तुष्ट नेताहरूले बताएका छन्।
बैठकमा जिल्ला कार्यसमितिका सदस्य, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि गरेर ८२ जनाको उपस्थिति रहेको थियो । ८२ जना मध्ये ७३ जनाले मतदान गरेको र सभापति चन्दले ७३ मत प्राप्त गरेको सचिव जोशीले बताए। यस्तै जोशीले ४५ मत प्राप्त गरेका छन्। उम्मेदवारका आकांक्षी उत्तरबहादुर ऐरले ६ मत, बिरबहादुर बिष्टले ४ मत, तेजबहादुर चन्दले तीन मत र नरबहादुर चन्दले शून्य मत प्राप्त गरेको बताइएको छ।
तर असन्तुष्ट पाँच जना नेताले सभापति चन्दले आफूलाई सिफारिस गर्न आफ्नो अनुकूलका नेताहरूलाई मात्रै बैठकमा बोलाएको असन्तुष्ट पक्षको दाबी छ। उम्मेदवारका आकांक्षी उत्तरबहादुर ऐरले सभापति चन्दले आफ्नो अनुकूलकालाई मात्रै बैठकमा बोलाएको, निर्वाचन प्रकिया पूरा नगरेको तथा योजनावद्धरुपले आफूहरूलाई जिल्लामै रोक्ने कोसिस गरेको बताए।
'जिल्ला सभापतिले योजनावद्ध किसिमले आफूलाई सिफारिस गर्ने काम गरेका छन्। हामीलाई बाहिर राखेर निर्वाजन भयो भनिएको छ। हामीले चुनाव बहिस्कार गरेको हो,' उनले भने, 'जसरी आफूलाई सिफारिस गर्ने काम भएको छ, त्यसको हामी विपक्षमा छौँ। सभापतिले तानाशाही व्यवहार देखाएका छन्। हिजोको निर्णय विरुद्ध हामी माथिल्लो निकायमा जान्छौँ।' ऐरले सभापतिले निर्वाचनको नाटक गरेर पूर्व योजनाअनुसार आफूसहित चुनावमा उठ्ने आकांक्षा नै नभएका जोशीको नाम सिफारिस गरेको दाबी गरेका छन्।
उम्मेदवारका आकांक्षी रहेका नेता तेजबहादुर चन्दले सर्वसम्मत नाम सिफारिस गरौँ भन्दा सभापति चन्दे एकलौटी निर्णय गरेको बताएका छन्। उनले सभापतिले नै षडयन्त्र पूर्वक काम गरेर नेपाली काँग्रेसलाई विभाजन गर्ने कोसिस गरेको बताएका छन्। 'हामीले सर्वसम्मत निर्णय गरौं भनेका थियौँ, सभापतिले आफ्नो पूर्व योजनाअनुसार षडयन्त्र पूर्वक काम गर्नुभएको छ,' उनले भने, 'हामी सहभागी नै नभएको निर्वचनको गरेर उहाँले आफूलाई नै उम्मेदवारका लागि सिफारिस गर्नुभएको छ। बैतडीमा पार्टीलाई विभाजन गर्ने किसिमको काम भएको छ।'
उम्मेदवारका अर्का आकांक्षी नन्दराज भट्टले सहमतिमा नाम सिफारिस गरौँ भन्ने प्रयास भइरहेको थियो तर एउटा पक्षले निर्वाचनमा जाने भनेर निर्वाचन गरेको बताए। उनले उक्त निर्वाचनमा आफूसहित पाँच जना नेता सहभागी नभएको बताएका छन्। भट्टले सहमति गरेर सर्वसम्मत नामावली पठाउन सक्ने वातावरण निर्माण गर्न खोज्दा एउटा पक्ष निर्वाचनमा गएको बताए।
शनिवार जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुको संयुक्त बैठकमा उम्मेदवार सिफारिसका लागि सहमति नभएपछि मतदान प्रक्रियाबाट टुंगो लगाएको नेपाली काँग्रेस बैतडीका सचिव देवराज जोशीले बताए।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको परिपत्रअनुसार एक निर्वाचन क्षेत्रबाट एक जना महिलासहित तीनजनाको नाम उम्मेदवारका लागि सिफारिश गर्नुपर्ने भए पनि सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय भएको जोशीले बताए।
मतदान प्रक्रियाबाट जिल्ला सभापति चतुरबहादुर चन्द र नेता विष्णुदत्त जोशीको नाम सिफारिस भएको उनले बताए।
महिलातर्फ जानकी भट्टमात्रै आकांक्षी देखिएकाले उनको नाम सिफारिस गर्ने निर्णय भएको छ।
यस्तै समानुपातिकतर्फ एकजनाको नाम सिफारिस गर्नुपर्नेमा देवु ठगुन्ना र कान्ता चन्द आकाँक्षी भएपछि मत विभाजन गरिएको थियो। मत विभाजन अनुसार कान्ता चन्दले ४५ मत र देवु ठगुन्नाले २५ मत प्राप्त गरेकी छन्। अब कान्ता चन्दको नाम समानुपातिकतर्फ सिफारिस गरिने सचिव जोशीले बताए।
यस्तै राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गर्ने निर्णय भएको छ। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थी, पूर्व महाधिवेशन प्रतिनिधि सुरेन्द्रबहादुर चन्द र नेता प्रताप ठगुन्नाको नाम सिफारिस गर्ने निर्णय भएको छ।
यता मतदान प्रक्रियाबाट उम्मेदवारको नाम सिफारिश गर्ने कार्यको उम्मेदवारका आकाँक्षीहरुले विरोध गरेका छन्। सहमतिको अधिकतम सम्भावना हुँदाहुँदै मतदान प्रक्रियाबाट नाम टुंगो लगाउने कार्य पार्टीको हित विपरीत रहेको उनीहरुले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।