स्वास्थ्य अवस्था बिग्रँदै गएपछि डा. गोविन्द केसीलाई हेलिकोप्टरबाट काठमाडौं लगिँदै
काठमाडौं: इलाममा २५ औं अनसनमा रहेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई हेलिकोप्टरबाट काठमाडौं लगिँदैछ।
श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई आइतबार रातिदेखि अक्सिजन दिएर उपचार सुरु गरिएको छ। उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै थप सुविधा सम्पन्न अस्पतालमा स्थानान्तरण गर्न आइतबार नै सुझाव दिएका थिए। सोही सुझाब अनुसार डा केसीलाई थप उपचारका लागि काठमाडौं लगिन लागिएको हो।
इलाम अस्पतालका निमित्त मेडिकल सुपरिट्नडेन्ट डा अमिताभ ठाकुरले डा केसीको स्वास्थ्य थप नाजुक बन्दै गएपछि संघीय र प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशाशन कार्यालयको समन्वयमा नै काठमाडौं पठाउन लागिएको हो। ’डा केसीको स्वास्थ्य स्थिति बिग्रिदै गएको र उनको अवस्था जोखिमपूर्ण हुन सक्ने देखिएको छ,’ उनले भने, ’उहाँको स्वास्थ्य अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै थप उपचार र निरन्तरको निगरानीका लागि सुविधासम्पन्न उच्चस्तरीय स्वास्थ्य संस्थामा तत्काल प्रेषण गर्ने सिफारिस गरिएको हो र सोही अनुसार अहिले हेलिकोप्टरमा पठाउन लागिएको छ।’
डा केसी ५ दिनदेखि अनसनमा छन्। अस्पतालले सोमबार बिहान उपलब्ध गराएको विवरण अनुसार डा केसीको रक्तचाप १००÷६०, पल्स ९० देखि १०० रहेको छ।
यस्ता छन् ६ बुँदे माग
१. विवादित निर्णय खारेजः न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटामा एमबीबीएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने र मापदण्डविपरीत विभिन्न कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल खारेज गरियोस्।
२. निष्पक्ष छानबिन र कारबाहीः चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रारलाई निलम्बन गरी निजहरूको नियुक्ति प्रक्रिया, शैक्षिक योग्यता, अनुभव, सम्भावित स्वार्थको द्वन्द्व र पदबहालीपछिका निर्णयबारे उच्चस्तरीय निष्पक्ष छानबिन गरियोस्। छानबिनबाट दोषी ठहरिने पदाधिकारीलाई कानुनी कारबाही गरियोस्।
३. गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालनः सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल तत्काल पूर्ण क्षमतामा सञ्चालन गरियोस्। आवश्यक पूर्वाधार, जनशक्ति र सबै कानुनी मापदण्ड पूरा भएपछि मात्र गुणस्तरीय शैक्षिक कार्यक्रम सुरु गरियोस्। विश्वविद्यालयसम्बन्धी ऐनका विवादित तथा दलीय प्रभावयुक्त प्रावधानसमेत परिमार्जन गरियोस्।
४. छात्रवृत्ति र गुणस्तरको रक्षाः सार्वजनिक तथा सरकारी स्रोत प्रयोग हुने संस्थामा अनिवार्य ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था कडाइका साथ लागू गरियोस्। निजी कलेजको व्यापारिक स्वार्थका लागि छात्रवृत्ति कटौती गर्ने र मापदण्डविनै सिट वृद्धि गर्ने प्रयास रोकियोस्।
५. सरकारसँग भएका सहमति कार्यान्वयनः २०८३ साउन ११ गते स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सुधार, सुशासन र सामाजिक न्यायलगायतका विषयमा सरकारसँग भएको सहमति पूर्ण रूपमा कार्यान्वयन गरियोस्। सहमतिमा समेटिएका २०८२ भदौ २४ गते देशभर भएका आगजनी, लुटपाट, तोडफोडलगायत विध्वंसात्मक घटनाको छानबिन तथा दोषीमाथि कारबाहीसम्बन्धी विषयसमेत कार्यान्वयन गरियोस्।
६. सरकारी मेडिकल कलेज विस्तारः इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज वा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने विगतका सहमति शीघ्र कार्यान्वयन गरियोस्। बर्दिवास मेडिकल कलेज निर्माण आयोजना खारेज गर्ने निर्णय बदर गरी निर्माण कार्य अघि बढाइयोस्।