सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका उच्च क्षेत्रमा चियाखेतीको सम्भाव्यता अध्ययन

२०८२ मंसिर २३, १२:१४ खबर संवाददाता

बैतडी: बैतडीको सुर्नया गाउँपालिका–५, ६ र ७ का उच्च भूभागमा चियाखेतीको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ। नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलसहितको प्राविधिक टोलीले गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अध्ययन कार्य अघि बढाएको हो।

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरका अनुसार चालु आर्थिक वर्षमा उच्च क्षेत्रमा चियाखेती सम्भाव्यता अध्ययन गर्ने लक्ष्य राखिएको थियो, जसअनुसार धुलिधार, रडीगाउँ, कलालपसे, जित्की–जुँवाड, मुसे, दाङललगायतका स्थानमा प्राविधिक तथा स्थानीय सहभागितासहित प्रारम्भिक अवलोकन सम्पन्न गरिएको छ।

चिया खेती परिचालन तदर्थ समितिका संयोजक कृष्ण बिष्टका अनुसार केही स्थानमा स्थानीयहरूसँग छलफल गरी चियाखेतीको सम्भावना बारे बहस गरियो भने केही क्षेत्रमा भौगोलिक अवस्था र प्राकृतिक उपयुक्तताको अध्ययन गरिएको छ। सम्भावित स्थानको माटो परीक्षणका नमुना समेत चिया विकास बोर्डले संकलन गरेको र केही दिनमै प्रतिवेदन आउने जानकारी उनले दिए।

पहाडी क्षेत्रमा खेतीपाती छोडेर जमीन बाँझो रहने समस्या बढ्दो अवस्थामा चियाखेती वैकल्पिक कृषि स्वरूपमा फस्टाउन सक्ने सम्भावना रहेको बिष्टको भनाइ छ। यस विषयमा विभिन्न पक्षसँग निरन्तर छलफल भइरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस