एनपीएल फाइनलको टिकट ‘सोल्ड आउट’
काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री खुल्नुअघि नै टिकटिङ प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएको छ। शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुल्ने सूचना जारी गरिए पनि बिक्री सुरु हुनुअगावै सबै टिकट सकिएको देखिएपछि दर्शक अन्योलमा परेका छन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ। बहुप्रतीक्षित फाइनल खेल प्रत्यक्ष हेर्न चाहने दर्शकले टिकट काट्न खोज्दा बिक्री प्लेटफर्ममा ‘सोल्ड आउट’ देखिएको हो।
एनपीएलको तेस्रो संस्करणका लागि नेपाल क्रिकेट सङ्घ क्यानले टिकट बिक्रीको जिम्मेवारी ईसेवालाई दिएको छ। प्रतियोगिताको लिग चरणका खेलमा साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको थियो। त्यस्तै, प्लेअफ र फाइनल खेलका लागि साधारणतर्फ एक हजार तथा प्रिमियमतर्फ दुई हजार रुपैयाँ शुल्क तोकिएको छ।