दार्चुलाको छाङरु–तिङ्करबाट खलङ्गासम्म अब नेपाली घोडेटोबाटै आवतजावत सम्भव
दार्चुलाः दार्चुलामा वर्षौँदेखि भारतीय भूमिमा निर्भर रहँदै आएको छाङरु र तिङ्कर क्षेत्रका बासिन्दाले अब भने नेपालकै बाटो भएर सदरमुकाम खलङ्गा आवतजावत गर्न सक्ने भएका छन्।
करिब २५ वर्षअघि बिग्रिएको घोडेटो बाटो पुनर्निर्माण भएपछि स्थानीयलाई सहज आवतजावतको व्यवस्था बनेको हो। बाटो निर्माण हुँदा व्याँस गाउँपालिकाको १ नम्बर वडा तिङ्कर र छाङरूका स्थानीयलाई सहज हुने भएको छ।
मंसिर पहिलो हप्तादेखि बाटो प्रयोग गरेर स्थानीयले घोडा, खच्चर र च्याङ्ग्रासहित दार्चुला सदरमुकाम बसाइसराइँ गरेको वडा नम्बर १ का अध्यक्ष अशोक बोहराले बताए। बोहोराका अनुसार संघीय सरकारको बजेटमा बनाइएको उक्त बाटो अब पूर्ण रूपमा सञ्चालनयोग्य बनेको छ।
नेपाली सेनाले गत आर्थिक वर्ष २०८१/८२ मा व्यास गाउँपालिका–२ को तम्बाकु क्षेत्रमा ७२० मिटर र चालु वर्ष २०८२/८३ मा आतुङ्ती–कल्जु क्षेत्रको भिरमा थप तीन मिटर बाटो निर्माण गरेको आयोजनाका प्रमुख, सेनानी राजेश कटुवालले जानकारी दिए। दुम्लिङदेखि छाङरु गाउँसम्म घोडेटो बाटोको कुल लम्बाइ २९ किलोमिटर रहेको छ।
बाँकी भाग निर्माण कम्पनी मिसन–देवहरि जेभीले सम्पन्न गरेको हो। संघीय सरकारले गत आवमा विनियोजित पाँच करोड ५० लाख रुपैयाँ र व्यास गाउँपालिकाले उपलब्ध गराएको ५० लाख रुपैयाँमा व्यास घोडेटो बाटो निर्माण कार्य पूरा गरिएको निर्माण कम्पनीले जनाएको छ।