हेमराज खड्काले ६० लाखभन्दा बढीको सरकारी सामान फिर्ता गरेनन्
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र धनगढीको चार पाङ्ग्रे गाडीसहित २४ किसिमका ३१ उपकरण र सामग्री गायब भएकोमा ती सामान अझै कार्यालयमा फिर्ता गरिएको छैन। गत भदौ २३ सम्म कार्यालय प्रमुखको पदमा रहेका हेमराज खड्काले ३१ मध्ये ३० सामान अझै फिर्ता गरेका छैनन्।
केन्द्रले दिनेशखबरलाई उपलब्ध गराएको विवरणमा एक थान जिपसहित ल्यापटप, कम्प्युटर, एसी, प्रोजेक्टर, फ्रिज, ट्रेड मिल र क्रस ट्रेनर लगायत अन्य सामान खरिद भएको तर कार्यालयमा नभेटिएको पाइएको थियो। हाल स्वास्थ्य तालिम केन्द्र धनगढीमा कार्यरत खड्काले स्वास्थ्य प्रवर्द्धन केन्द्रको स्कारपियो जिपसहित ३० सामान र उपकरण फिर्ता गरेका छैनन्।
खड्काले मंसिर २१ गते आइतवार सबै सामान फिर्ता गर्ने भनेको भए पनि एक थान ट्रेडमिल मात्रै कार्यालयमा दाखिल गरेको पाइएको छ। आइतवार खड्काले एक थान ट्रेडमिल कार्यालयमा दाखिला गरेको निमित्त प्रमुख तेजविक्रम शाहीले बताए।
खड्काले फिर्ता नगरेको सामानको विवरण
स्वास्थ्य प्रवर्द्धन केन्द्रको जिप जसको अन्दाजी मूल्य ४० लाख रहेको बताइएको छ, त्यो अहिले प्रवर्द्धन केन्द्रमा छैन। उक्त गाडी हेमराज खड्काले प्रयोग गरिहरको बताइएको छ।
अन्य सामानमा सात लाख ५९ हजार ९२६ मूल्यको ६ थान ल्यापट जिन्सी अभिलेखअनुसार गायब छन्। यस्तै, ९० हजार चार सय मूल्यको चार थान यात्रुजन्य साधन, दुई लाख २० हजार १९६ मूल्यको कम्प्युटर तथा दूरसञ्चार सामान, एक लाख २० हजार दुई सय मूल्यको चार थान प्रिन्टर, ६५ हजार ५४० मूल्यको एक थान प्रोजेक्टर, एक लाख ९३ हजार मूल्यको डिजिटर डिस्प्ले बोर्ड कार्यालयमा नभेटिएको विवरण दिनेशखबरलाई उपलब्ध गराइएको छ।
स्वास्थ्य प्रवर्द्धन केन्द्रको जिन्सी अभिलेखमा उल्लेख भएको चार हजार ४४८ मूल्यको दुई थान हिटर, २५ हजार ५३८ मूल्यको पाँच थान सिलिङ पङ्खा, चार हजार ४९५ मूल्यको एक थान टेबुल पङ्खा, एक लाख ४५ हजार मूल्यको दुई थान एसी, २५ हजार मूल्यको एक थान फ्रिज, १८ हजार १९१ मूल्यको एक थान युपिएस, ३१ हजार ३०४ रुपैयाँको एक थान ब्याट्री, १९ हजार मूल्यको अन्य विद्युतीय उपकरण, दुई लाख ९२ हजार ६७० मूल्यको दुई थान ट्रेड मिलमध्ये एक थान भने कार्यालयमा फिर्ता गरिएको छ।
यस्तै, एक लाख ५९ हजार ९९८ मूल्यको एक थान क्रस ट्रेनर, ६४ हजार ९९९ मूल्यको भाइब्रेटर र ९९ हजार ४४० रुपैयामा तयार भएको बेबसाइट कार्यालयमा फेला नपरेको विवरणमा उल्लेख छ।
सूचनाको हक प्रयोग गर्दै दर्ता गरेको निवेदनको आधारमा सामाजिक विकास मन्त्रालयको आदेशका आधारमा स्वास्थ्य प्रवर्द्धन केन्द्रले जिन्सी अभिलेख अनुसारको परिणाक र हाल कार्यालयमा मौज्दात परिणामको विवरण उपलब्ध गराएको हो। कार्यालयका लागि खरिद भएको, जिन्सी अभिलेखमा उल्लेखित जिप बाहेकको २२ लाख ८० हजार २९४ मूल्य बराबरको सामान कहाँ गयो भन्ने विवरण खुलेको छैन।
खड्कालाई मुख्यमन्त्री शाह र राज्यमन्त्री खड्काको साथ
यो विषयमा केन्द्रका पूर्व प्रमुख हेमराज खड्कालाई बुझ्न खोज्दा उनले सामाजिक विकास मन्त्रालयका सचिवलाई सबै समान फिर्ता गर्ने बताएका छन्। उनले मन्त्रालयका सचिवको रोहवरमा सबै सामान फिर्ता गर्ने बताएका छन्। नवौं तहका बढुवा भएर स्वास्थ्य तालिम केन्द्र धनगढी सरूवा भएका खड्काले फेरि प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको हाकिम हुन खोजेको बताइन्छ।
उनले मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रभावित बनाएर सरुवाका लागि सामाजिक विकास मन्त्रालयमा दबाब बढाएको मन्त्रालय स्रोतको दाबी छ। मुख्यमन्त्री शाह र सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले हेमराज खड्कालाई स्वास्थ्य प्रवर्द्धन केन्द्रको जिम्मेवारी दिन चाहेको बताइएको छ।
फर्केर पुनः हाकिम हुने दाउमा रहेका खड्काले कार्यालयको गाडीसहित ६० लाखभन्दा बढी मूल्यको सामान सरुवा भएको तीन महिनासम्म कार्यालयमा फिर्ता नगरेको स्रोतको दाबी छ। तर सामाजिक विकास राज्यमन्त्री खड्काले हेमराज खड्कालाई कार्यालय प्रमुख बनाउन आफूले कुनै किसिमको दबाब नदिएको बताएकी छन्।