दशौँ बृहत राष्ट्रिय खेलकुद : जिल्ला छनौट सुरु
महेन्द्रनगर : कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत राष्ट्रिय खेकुलद प्रतियोगिताअन्र्तगत कञ्चनपुरमा जिल्लास्तरीय छनौट प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद समिति कञ्चनपुरको आयोजनामा आजदेखि सुरु भएको तीन दिने जिल्ला स्तरीय छनौट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले उद्घाटन गरे । उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले कञ्चनपुरलाई प्राथमिकतामा राखेको बताए।
“यो पालिको बजेटमा यहाँ विभिन्न खेल संरचना निर्माणमा प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।” रावलले भने, “खेलाडीहरुले पदक ल्याउने मात्र नभई अनुशासनमा रही खेलकुदमा अघि बढ्नुपर्छ ।” जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले विभिन्न २३ खेलमा यहाँ पुरुष तथा महिला खेलाडी छनौट हुने जानकारी दिए ।
“८१४ जना खेलाडी प्रतिस्पर्धाका लागि तयारीमा छन् ।” भट्टले भने, “जिल्लाबाट प्रदेश छनौटका लागि कञ्चनपुरबाट २३ खेलमा १६६ महिला र १९६ पुरुष खेलाडी छनौट हुनेछन् ।” उद्घाटन समारोहमा जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंह, जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्द, कबड्डी सङ्घका अध्यक्ष महेश चन्द, सितोरियो कराते सङ्घका अध्यक्ष गजेन्द्रबहादुर चन्द र जिल्ला भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनी लगायतको सहभागिता रहेको थियो । छनौट आगामी बिहीबारसम्म सञ्चालन हुनेछ ।