सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेलधुरामा सडक निर्माणमा माटो र कमसल गिट्टी प्रयोग

२०८२ मंसिर २५, ०१:३८ खबर संवाददाता

डडेलधुरा: डडेलधुराको भातकाँडा–बडाल–रेल सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको खुलेको छ। बालुवाको सट्टा माटो र कमसल गिट्टी प्रयोग गरी पर्खाल निर्माण गरिएको भेटिएपछि स्थानीयले आपत्ति जनाएका छन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको क्षेत्रसमेत पर्ने गन्यापधुरा गाउँपालिका–१ रुवाखोला हुँदै डोटीको शिखर नगरपालिकासँग जोडिने यो मुख्य सडक समयमै निर्माण हुन नसक्दा यसअघि पनि बारम्बार प्रश्न उठँदै आएको थियो।

स्थानीय सुरेन्द्र चन्दका अनुसार मङ्गलबार माटो प्रयोग गरेर बनाइएको पर्खाल स्थानीयको विरोधपछि भत्काइएको हो। गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालासहितको टोलीले स्थलमै पुगेर अनुगमन गरेको छ। अनुगमनपछि प्रजिअ कोइरालाले अत्यधिक लो–बिडिङ, गुणस्तरहीन सामग्री प्रयोग, समयमै काम नगर्ने प्रवृत्ति र गैरजिम्मेवारीपनका कारण निर्माण कार्य प्रभावित भएको बताए।

साढे चार किलोमिटर सडक कालोपत्रे गर्न आर्थिक वर्ष २०७८÷७९ मै ठेक्का सम्झौता भए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन। यसको विपरीत, यसपछि ठेक्का लागेका अन्य सडकखण्डहरू गत वर्षमै कालोपत्रे भइसकेका छन्। २०५२ सालमै ट्र्याक खोलिएको यो सडक अझै कालोपत्रे नहुनु सम्बन्धमा स्थानीयले निरन्तर प्रश्न उठाउँदै आएका छन्। महाकाली राजमार्गको भातकाँडा बजारदेखि साढे चार किलोमिटर खण्ड कालोपत्रे गर्न अनक जोशी मालिका निर्माण कम्पनीसँग साढे नौ करोड बराबरको ठेक्का सम्झौता गरिएको थियो। तर पर्खाल निर्माणका क्रममा खनिएको माटो बालुवाका नाममा प्रयोग गरिएको र ढुङ्गा कुटेर कमसल गिट्टी प्रयोग गरिएको पाइएको छ।

स्थानीय सन्तोष देउवाका अनुसार निर्माण स्थलमा बालुवाको नाममा माटो हालिएको छ, गिट्टी पनि निकृष्ट गुणस्तरको प्रयोग गरिएको छ, र केही स्थानमा एक्सपायर सिमेन्टसम्म प्रयोग भएको आशंका छ। पाँच वर्षदेखि काम अलमलमा परिरहेको र अझै गुणस्तरसम्बन्धी समस्या देखिनु दुवै चिन्ताजनक रहेको उनको भनाइ छ। सडक डिभिजन कार्यालयका कर्मचारीसँग सम्पर्क गर्न खोज्दा प्रतिक्रिया नआएको गुनासो पनि उनले व्यक्त गरे।

सडक डिभिजन कार्यालय डोटीका सबइन्जिनियर विवेक शर्माका अनुसार हालसम्म भौतिक प्रगति ४१ प्रतिशतमा सीमित छ। भातकाँडा–बडाल–रेल सडक कालोपत्रेका लागि २०७८ माघमा ठेक्का सम्झौता भएको र २०८० चैत मसान्तसम्म काम सक्ने लक्ष्य राखिएको थियो। तर सो अवधिभित्र काम सुरु नै नभएपछि म्याद थपिएको हो। गत वर्ष कटिङ र पर्खाल निर्माणमात्रै गरिएको थियो, जसका आधारमा २०८२ असार मसान्तसम्म म्याद पुनः थपिएको छ। हाल फेरि पर्खाल निर्माणका काम भइरहेको सबइन्जिनियर शर्माले जानकारी दिए।

निर्माण कम्पनी अनक जोशी मालिकाका सञ्चालक रघुवीर साउदका अनुसार गत वर्ष केही काम सम्पन्न भएपछि म्याद थपिएको हो। तर स्थानीय र प्रशासन दुवैले उठाएका गुणस्तरका गम्भीर प्रश्नहरूबीच सडक निर्माण फेरि विवादमा परेको छ।
गोरखापत्रबाट साभार
 

कमेन्ट लोड गर्नुस