शाखा अधिकृतमा सिफारिस उम्मेदवारलाई चैतन्यको बधाई
काठमाडौँः लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै शाखा अधिकृतमा सिफारिस हुन सफल उम्मेदवारहरूलाई काठमाडौँको शङ्खमुलस्थित चैतन्य एकेडेमीले एक विशेष समारोहमार्फत सम्मान गरेको छ।
विगत १२ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको बधाई तथा शुभकामना कार्यक्रमको यो ३७औँ शृङ्खला भएको चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले बताएका छन्। एकेडेमीले प्रत्येक वर्ष लोकसेवाका विभिन्न सेवा, समूह र तहमा सिफारिस भएका उम्मेदवारहरूलाई सम्मान गर्दै आइरहेको छ। यही परम्परालाई निरन्तरता दिँदै मङ्सिर २४ गते शाखा अधिकृतमा सिफारिस भएका नयाँ उम्मेदवारहरूलाई बधाई ज्ञापन गरिएको जोशीले बताए।
कार्यक्रममा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली, पूर्व सचिव गोपीनाथ मैनाली, सहसचिव प्रतीक ढकाल, उपसचिव परशुराम पोख्रेल, उपसचिव विजय शर्मा, उपसचिव हरिचन्द्र जोशी, उपसचिव भुवन भट्ट, उपसचिव मधुसुधन भट्टराई तथा चैतन्य एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले खादा माला र टीका लगाई योग्य उम्मेदवारहरूलाई सम्मान गरेका थिए।
सम्मानित अधिकृतहरूले चैतन्यले विगत लामो समयदेखि खरिदारदेखि सहसचिवसम्म लोकसेवाबाट सिफारिस हुनेहरूलाई निरन्तर रूपमा प्रेरित गर्दै आएको उल्लेख गर्दै यस कार्यलाई व्यावसायिक मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोडिएको उत्कृष्ट पहलका रूपमा व्याख्या गरे। कार्यक्रमले परीक्षार्थीहरूको मनोबल उच्च राख्न र सफल भइसकेकालाई थप जिम्मेवारी बोध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।
सहभागीका अनुसार चैतन्यको प्रभावकारी व्यवस्थापन, गुणस्तरीय कक्षा सञ्चालन र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनले नै उनीहरूलाई उत्कृष्ट नतिजासम्म पु¥याएको हो। 'हामीले यहाँ केवल परीक्षामा सोधिने प्रश्नको उत्तर मात्र सिकेनौँ, सार्वजनिक प्रशासनका बहु आयामिक पक्षहरू स्थानीयदेखि विश्वव्यापी अवधारणासम्म बुझ्ने अवसर पायौँ,' कार्यक्रमका सहभागीले बताए।
कार्यक्रममा पूर्व अध्यक्ष उमेश मैनालीले नवसिफारिस अधिकृतहरूलाई उच्च नैतिकता, चरित्र र जिम्मेवारीसहित सार्वजनिक प्रशासनको छवि उकास्न निरन्तर सक्रिय रहन आग्रह गरेका थिए। उनले आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरू पनि साट्दै 'सेवामा मर्यादा र इमानदारी भनेकै सबैभन्दा ठुलो शक्ति हो' भन्दै मार्गदर्शन गरेका छन् ।
त्यसै गरी, नेपाल सरकारका सचिव विजय शर्माले अधिकृतहरूलाई विनम्रता, निष्ठा र उच्च मनोबलका साथ सेवा प्रदायमा समर्पित रहन सुझाव दिए। 'घमन्ड होइन, जिम्मेवारीका साथ काम गर्दा मात्र नागरिकले अनुभूत गर्ने सेवा गुणस्तरीय हुन्छ,' उनले जोड दिए।
चैतन्य एकेडेमीले लोकसेवा तयारी कक्षासँगै विभिन्न पेसामा संलग्न व्यक्तिहरूको पेसागत क्षमता अभिवृद्धि, नीति निर्माण तथा सङ्गठनात्मक विकासमा विगत एक दशकदेखि निरन्तर योगदान दिँदै आएको छ। साथै आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई निःशुल्क शिक्षा प्रदान गर्दै सामाजिक उत्तरदायित्व पनि पूरा गर्दै आएको एकेडेमीले जनाएको छ।
कोरोना महामारीपछि पनि चैतन्यले लोकसेवा तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै हरेक शनिवार निःशुल्क पृष्ठपोषण कक्षा सञ्चालन गर्दै आएको छ। संस्थाले राष्ट्रिय प्राथमिकताका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सम्मेलन र संवाद कार्यक्रमहरू आयोजना गर्दै आएको छ।