सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको आमपानी क्षेत्रमा बढ्दै पर्यटकको आकर्षण

२०८२ मंसिर २८, ०२:४० जयन्त सिंह भाट

घोडाघोडीः कैलालीको मोहन्याल गाउँपालिकामा रहेको आमपानी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। पहिले कहिलेकाहीँ मात्र पर्यटक पुग्ने आमपानीमा अहिले दैनिकजसो पर्यटकको चहलपहल देखिन थालेको छ। अटो, बस र मोटरसाइकलमार्फत लम्कीचुहाबाट करिब आठ किलोमिटर उत्तरतर्फ चुरे पहाडको फेदीमा रहेको आमपानी पुग्नेको संख्या बढ्दो छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण आमपानी घुम्न तथा वनभोजका लागि टेङ्ग्नुवा महिला सामुदायिक वनका ७० जना उपभोक्तासहित पुगेकी सचिव राधा पाण्डेले एकान्त जंगलभित्र रहेको यो क्षेत्र निकै रमणीय रहेको बताउनुभयो। तर, पर्यटकको संख्या बढेसँगै फोहोर व्यवस्थापन चुनौती बन्दै गएको उनको भनाइ छ। वनभोज र घुम्न आउनेले प्रयोग गरेका प्लास्टिकजन्य सामग्री जथाभावी फालिँदा वातावरण प्रदूषित हुन थालेको उनले गुनासो गरे। फोहोर व्यवस्थापनका लागि सामुदायिक वनले पर्यटकबाट न्यून शुल्क उठाउने व्यवस्था गर्न सकिने सुझाव पनि उनले दिए। 

मोहन्याल गाउँपालिका–७ अन्तर्गत बर्गदा सामुदायिक वन क्षेत्रमा पर्ने आमपानी झरनालाई पछिल्लो समय गरिएको पूर्वाधार निर्माणले थप आकर्षक बनाएको स्थानीयको भनाइ छ। कोरोना संक्रमणकालमा सामाजिक सञ्जालमा झरनाका भिडियो भाइरल भएपछि यहाँ पुग्ने पर्यटकको संख्या तीव्र रूपमा बढेको हो। लम्कीचुहा नगरपालिका–१ का दधिराम चापाईका अनुसार सुरुमा राम्रो बाटोको सुविधा नभए पनि अहिले पैदलमार्ग, वनभोज स्थल र शौचालय निर्माण भइसकेका छन् भने झरनासम्म सवारी साधन पुग्ने सुविधा पनि छ। चर्चित राजकाँडा पर्यटकीय स्थल जाने बाटोमै आमपानी पर्ने भएकाले समेत पर्यटकको चाप बढेको उनले बताए। 

विशेषगरी बिदाको दिन र शनिबार आमपानीमा कैलालीसहित आसपासका जिल्लाबाट वनभोज, झरनामा नुहाउने र मनोरञ्जनका लागि आउने पर्यटकको भिड लाग्ने गरेको छ। नयाँ गन्तव्यका रूपमा विकास हुँदै गरेको यस क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारको अनुदान सहयोग पनि रहेको छ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले पर्यटकको रोजाइमा आमपानी पर्न थालेपछि यस क्षेत्रलाई व्यवस्थित गर्न स्थानीय सरकार गम्भीर बनेको बताए। सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत झरनाको पूर्वाधार निर्माणमा सहयोग गरिएको हो।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबलबहादुर बोहोराका अनुसार पदमार्ग र झरनाको जग निर्माणका लागि ३६ लाख रुपैयाँ खर्च गरिएको छ। आमपानी पर्यटन क्षेत्रको व्यवस्थापनको जिम्मा सामुदायिक वन उपभोक्ता समितिलाई दिइएको छ।
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस