सुदूरपश्चिम सरकारले छुट्यायो राजनीतिक दलका कार्यालय भवन बनाउन बजेट
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा राजनीतिक दलका कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष सुरु भएको तीन महिनापछि ल्याइएको बजेटमा विभिन्न राजनीतिक दलसँग सम्बन्धित भवन र प्रतिष्ठानका नाममा लाखौँ रुपैयाँ छुट्याइएको हो।
प्रदेश सरकारले नेकपा एमालेसँग सम्बन्धित भवनलाई मदन–आश्रित स्मृति भवन, नेपाली कांग्रेससँग सम्बन्धित भवनलाई गणेशमान स्मृति भवन र नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेको साविकको नेकपा एकीकृत समाजवादीसँग सम्बन्धित प्रतिष्ठानलाई पुष्पलाल स्मृति प्रतिष्ठानका नाममा बजेट दिएको छ।
चालु आर्थिक वर्ष २०८३र८४ को बजेटमा डडेल्धुरा, कैलाली, बाजुरा र अछाममा यस्ता भवन तथा संरचना निर्माणका लागि रकम विनियोजन गरिएको छ। डडेल्धुरामा मदन–आश्रित स्मृति भवनका नामले एमाले पार्टी कार्यालय रहेको छ। मदलन–आश्रित स्मृति भवन निर्माणका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ विनियोजन गरेको छ। सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय डडेल्धुरामार्फत कार्यान्वयन हुने उक्त योजना परशुराम नगरपालिका–१२ मा कार्यान्वयन हुने बताइएको छ।
त्यस्तै, कैलालीको घोडाघोडीमा मदन–आश्रित पुस्तकालय तथा शौचालय निर्माणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ। बाजुराको बुढीनन्दामा मदन–आश्रित भवन निर्माणका लागि पनि १० लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रदेश सरकारले कैलालीको धनगढीमा पुष्पलाल स्मृति प्रतिष्ठान भवन निर्माणका लागि २० लाख रुपैयाँ छुट्याएको छ। यसैगरी, अछामको मंगलसेनमा गणेशमान सिंह सामुदायिक भवन निर्माणका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेश सरकारले राजनीतिक दलका कार्यालय तथा तिनसँग सम्बन्धित भवन निर्माणका लागि बजेट छुट्याएको यो पहिलोपटक भने होइन। पछिल्लो नौ वर्षमा यस्ता शीर्षकमा १५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भइसकेको छ।