सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेनजी आन्दोलनपछि बनेको सरकारलाई रास्वपाको समर्थन

२०८२ पुष ५, ०४:४० खबर संवाददाता

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि भएका षड्यन्त्रहरूले आफूलाई कत्तिपनि बिचलित नगरेको बताएका छन्। शनिबार चितवनमा आयोजित कार्यक्रममा समर्थकहरूलाई सम्बोधन गर्दै उनले देशका लागि लड्दा विभिन्न आरोप र षड्यन्त्र सामना गर्नुपरे पनि आफ्नो अडान नटुटेको स्पष्ट पारे।

लामिछानेले जेनजीको आन्दोलन र उनीहरूले उठाएका मागप्रति आफ्नो पूर्ण समर्थन रहेको बताए। जेनजी आन्दोलनपछि बनेको सरकारले विचलित नभई समयमै निर्वाचन गराउनुपर्नेमा उनले जोड दिए। वर्तमान सरकारलाई रास्वपाको पूर्ण समर्थन रहेको पनि उनले प्रस्ट पारे।

आफूलाई हेलिकप्टरमा झुण्डिएर भाग्ने नेताहरूले विभिन्न मुद्दा लगाएर जेल पठाएको आरोप लगाउँदै उनले त्यस्ता नेताहरूलाई आगामी निर्वाचनमा शून्यमा झार्न जनतालाई आग्रह गरे।

देशमा परिवर्तन चाहने शक्तिहरूसँग सहकार्यका लागि छलफल भइरहेको उल्लेख गर्दै लामिछानेले त्यसका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।
 

कमेन्ट लोड गर्नुस