सुदूरपश्चिम विश्वविद्यालयमा एक दिने प्रादेशिक शिक्षक सम्मेलन आयाेजना
महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा एकदिने प्रादेशिक शिक्षक सम्मेलन सम्पन्न भएको छ। काठमाडौँ विश्वविद्यालयको शिक्षा विद्यालयअन्तर्गतको निरन्तर तथा व्यावसायिक शिक्षा केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागको संयुक्त आयोजनामा सम्मेलन भएको हो।
‘बदलिँदो परिदृश्यमा शिक्षाको भविष्य: कृत्रिम बुद्धिमत्ता, समावेशिता र नैतिकता’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा शिक्षामा भइरहेको प्रविधिगत परिवर्तन, कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग तथा त्यससँग जोडिएका चुनौती र अवसरबारे छलफल गरिएको थियो।
कार्यक्रममा शिक्षाविद् प्राध्यापक डा. बालचन्द्र लुइँटेलले ‘लोकतन्त्रवादी शिक्षा र रूपान्तरणकारी सिकाइको जोखिम: निराशा कसरी सुधार्ने ?’ विषयमा मुख्य वक्तव्य दिएका थिए।
त्यसैगरी, सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय शिक्षा विभागका प्रमुख सहप्राध्यापक डा. मदनसिंह देउपाले ‘रूपान्तरणकारी विकासका लागि शिक्षा: जनशक्ति सशक्तीकरण र राष्ट्र निर्माण’ विषयमा प्रस्तुति दिएका थिए।
सम्मेलनमा एसोसिएसन अफ प्रि-स्कुल एजुकेटर नेपाल, कैलाली जिल्ला कार्यसमिति, चैतन्य पाठशाला, आध्या स्कुल, सत्यवती एकेडेमीलगायत स्थानीय शैक्षिक संस्थाहरूले सहयोगी तथा सहकार्यकर्ताका रूपमा सहभागिता जनाएका थिए।
सुदूरपश्चिम प्रदेशका शिक्षक, प्राध्यापक तथा शिक्षाविद्हरूको उल्लेखनीय सहभागिता रहेको सम्मेलनमा प्रविधिको जिम्मेवार प्रयोग, समावेशी शिक्षा, नैतिकता तथा शिक्षण सिकाइलाई समयअनुकूल बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो।