प्रदेश सरकारले संघीय कर्मचारीलाई प्रदेश कार्यालयमा दोहोरो जिम्मेवारीमा खटायो
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको आर्थिक मामिला मन्त्रालयले लेखा समूहका संघ सरकारका कर्मचारीलाई प्रदेश मातहतका कार्यालयमा दोहोरो जिम्मेवारीमा खटाएपछि विवाद उत्पन्न भएको छ। प्रदेश लेखा समूहका कर्मचारीहरूले प्रदेश सरकारले आफ्ना कर्मचारीमाथि पूर्वाग्रह राखेको दाबी गरेका छन्।
मन्त्रालयले प्रदेश मातहतका विभिन्न कार्यालयमा लेखा समूहका पद रिक्त रहेकाले संघीय कार्यालयमा कार्यरत लेखा अधिकृत तथा लेखापाललाई थप जिम्मेवारी दिएको जनाएको छ। हालै मन्त्रालयले २८ जनालाई दोहोरो जिम्मेवारीमा खटाएकोमा तीमध्ये पाँच जना संघ सरकारअन्तर्गतका लेखा समूहका कर्मचारी रहेका छन्।
लेखा समूहका कर्मचारीका अनुसार दोहोरो जिम्मेवारीमा खटाउने, कर्मचारी व्यवस्थापन गर्ने तथा खाता सञ्चालन अधिकार दिने क्षेत्राधिकार प्रदेश लेखा नियन्त्रक कार्यालयको भए पनि मन्त्रालयले सो अधिकारमाथि समेत हस्तक्षेप गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले रिक्त पदमा कर्मचारी खटनपटन मन्त्रालयकै निर्णयअनुसार भएको जनाएको छ। गत वर्षदेखि नै मन्त्रालयले आफैं खटनपटन गर्न थालेको लेखा नियन्त्रक वासुदेव जोशीले बताए।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनविपरीत मन्त्रालयले लेखा नियन्त्रक कार्यालय र लेखा इकाइ कार्यालयको क्षेत्राधिकार मिचेको प्रदेश लेखा नियन्त्रक कार्यालयका एक लेखा अधिकृतले बताए। उनले मन्त्रालयको निर्णयविरुद्ध लेखा अधिकृतहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउने तयारी भइरहेको जानकारी दिए।
लेखा समूहका कर्मचारीलाई थप जिम्मेवारी तोक्ने अधिकार लेखा कार्यालयसँग भए पनि गत वर्षदेखि मन्त्रालको प्रदेश सचिवबाटै थप जिम्मेवारी तोकिन थालेको हो।
मन्त्रालयको निर्णयअनुसार बझाङको मालपोत कार्यालयमा कार्यरत संघका लेखापाल शिवराज पाण्डेयलाई डिभिजन वन कार्यालयमा, जिल्ला प्रशासन कार्यालयमा कार्यरत लेखापाल भीमराज जोशीलाई सामाजिक विकास कार्यालयमा र जिल्ला कारागारमा कार्यरत लेखापाल मानबहादुर बमलाई घरेलु तथा साना उद्योग कार्यालयमा थप जिम्मेवारी दिइएको छ।
यसैगरी, बैतडी जिल्ला अदालतमा कार्यरत विष्णुप्रसाद जोशीलाई कृषि ज्ञान केन्द्रमा तथा अछामको मेरो नयाँ शहर आयोजना कार्यालय साँफेबगरमा कार्यरत लेखापाल टेकबहादुर सिजापतिलाई बयलपाटा अस्पतालमा दोहोरो जिम्मेवारी दिई खटाइएको छ।
यता आर्थिक मामिला मन्त्रालयका प्रवक्ता अर्जुन खड्कासँग यो विषयमा बुझ्न खोज्दा उनको फोन स्वीच्ड अफ आयो भने प्रदेश सचिव राजेन्द्रकुमार हमालको फोन उठेन।
प्रदेश सरकारले विज्ञापन खोल्न प्रदेश लोक सेवा आयोगमा रिक्त दरबन्दीको तेरिज नपठाउने र दोहोरो जिम्मेवारीमा लेखा समूहका कर्मचारी खटाउने गरेको बताइएको छ।