सुदूरपश्चिम प्रहरीको मंसिर रिपोर्ट: ५२४ फरार प्रतिवादी पक्राउ, करोडौं जरिवाना असुल
धनगढीः सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका मंसिर महिनामा २५६ मुद्दा प्रहरीमा दर्ता भएका छन्। प्रदेश प्रहरी कार्यालय धनगढीले आइतवार पत्रकार सम्मेलन गर्दै मंसिर महिनाको कार्य प्रगति सार्वजनिक गरेको हो।
सुदूरपश्चिममा मंसिर महिनामा जघन्य अपराधका ७४ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै, वर्षौदेखि पेन्डिङमा रहेका दुई हजार ५५३ मुद्दा मध्ये ११४ मुद्दा मंसिर महिनामा फर्छ्यौट भएको प्रदेश प्रहरीले जनाएको छ।
अदालतको फैसाला कार्यान्वयन गर्न प्रहरीले प्रदेशभरबाट ५२४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ भने उनीहरूबाट एक करोड ६१ लाख ९९ हजार २९१ रुपैयाँ जरिवाना उठाइएको प्रहरीले जनाएको छ।
मंसिर महिनामा प्रदेशका सबै जिल्लामा महिला तथा बालबालिका सम्बन्धी २८ वटा उजुरी परेको प्रहरीले जनाएको छ। यस्तै, प्रदेशभर १५५ जना हराएको उजुरी आएकोमा ९० जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ।
मंसिर महिनामा प्रदेशभरबाट प्रहरीमा ८११ वटा ठाडो उजुरी परेकामा ७५६ वटा उजुरी फर्छ्यौट भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मंसिरमा मानव बेचविखनका ६ मुद्दा दर्ता भएका छन्। बेचविखनमा संलग्न पाँच जना पक्राउ परेका छन् भने एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ।
यस्तै मंसिरमा मात्रै लागु औषधका ५६ मुद्दा दर्ता भएको र दुई जना महिला र ८६ जना पुरूष पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रदेशभर २१ जनाले आत्महत्या गरेको र सबैभन्दा बढी झुन्डिए आत्महत्या गरेको घटना घटेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयले मंसिरमा घरेलु हिंसाका ८० वटा उजुरी प्रहरीमा आएकोमा ६५ मा मिलापत्र गरेको बाँकी अदालत पठाइएको जनाएको छ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालयले हरेक महिनाको ५ गते पत्रकार सम्मेलन गरेर प्रहरीको गतिविधि र उपलब्धिको जनाकारी गराउने जनाएको छ।
पत्रकार सम्मेलनमा गत भदौ २४ मा भएको आन्दोलनका क्रममा प्रदेशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी मध्ये ३६५ जना बन्दी कारागार नफर्केको प्रहरीले बताएको छ। कारागारबाट भागेका मध्ये ६५ जना भारतीय कैदी रहेको प्रदेश प्रहरीले जनाएको छ। फरार रहेका मध्ये धेरैजसो कैदीबन्दी भारत भागेको प्रहरीले जनाएको छ।