बस्न सकेन सुदूरपश्चिम प्रदेशसभा बैठक
धनगढीः शुक्रबार बस्ने भनेको सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्न सकेन। सभाहल तथा आवश्यक भौतिक र प्राविधिक व्यवस्थापनको काम पूरा नहुँदा प्रदेशसभा बैठक बस्न नसकेको हो।
पुस ११ गतेका लागि तय गरिएको प्रदेशसभा बैठक सभाहलको पुनर्निर्माण अधुरो रहेकाले पुनः स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा भवनमा आवश्यक कुर्सी, माइक, ध्वनि प्रणाली तथा अन्य संरचनात्मक र प्राविधिक तयारी पूरा हुन नसकेकाले बैठक सञ्चालन गर्न सम्भव नभएको सचिवालयको भनाइ छ। सभामुख भीम बहादुर भण्डारीले कार्यव्यवस्था परामर्श समितिबाट बैठक सञ्चालनसम्बन्धी निर्णय गरिसके पनि सभाहल पूर्ण रूपमा तयार नभएकै कारण बैठक सार्नुपरेको बताएका छन्।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडले सुदूरपश्चिम प्रदेशसभा भवनमा ठूलो क्षति पुगेको थियो। उक्त घटनामा प्रदेशसभा सचिवालय, विभिन्न संसदीय दलका कार्यालय तथा संसद् भवनमा गरी करिब आठ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। सोही क्षतिका कारण प्रदेशसभा बैठक पछिल्लो साढे तीन महिनादेखि ठप्प अवस्थामा रहँदै आएको छ।
लामो समयपछि शुक्रबार बैठक बस्ने अपेक्षा गरिएता पनि पुनर्निर्माणकै कारण त्यो सम्भव हुन नसकेको हो। प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार आगजनी र तोडफोडबाट क्षति पुगेका संरचनाको मर्मत–सम्भारको काम अन्तिम चरणमा पुगेको छ। सूचना अधिकारी जैशीका अनुसार पछिल्लो समयको चिसो मौसम र आद्र्रताका कारण फर्निचर निर्माण तथा जडान कार्यमा ढिलाइ भएको हो। ‘फर्निचर र माइक जडानको काम अबको दुई–तीन दिनभित्र सम्पन्न हुन्छ’ उनले भने, ‘काम सकिएपछि एक साताभित्र प्रदेशसभा बैठक सञ्चालन हुनसक्छ।’ अर्को बैठकको ठोस मिति भने तय हुन सकेको छैन।