सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कांग्रेसद्वारा ज्येष्ठ क्रियाशील सदस्य सम्मान

२०८२ पुष १४, ११:२९ खबर संवाददाता

बैतडीः नेपाली काँग्रेस बैतडीले पार्टी सङ्गठन निर्माणमा योगदान पुर्‍याएका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गर्ने अभियानलाई निरन्तरता दिएको छ। अभियानअन्तर्गत हालसम्म जिल्लाका ७१ वडामा रहेका ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिसकिएको कााग्रेसले जनाएको छ।

शनिबार दोगडाकेदार गाउँपालिका–२, ३ र ७ का सदस्यलाई खिरेगाउँस्थित पार्टी कार्यालयमा तथा वडा ४ र ५ का सदस्यलाई सिल्लेकमा सम्मान गरिएको हो। कार्यक्रममा सम्मानपत्र प्रदान गर्दै खादा ओढाइएको थियो।

काँग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले ज्येष्ठ क्रियाशील सदस्यको योगदानको कदर गर्दै सङ्गठनलाई थप मजबुत बनाउने उद्देश्यले सम्मान कार्यक्रम सञ्चालन गरिएको बताए। जिल्लाका कुल ८४ वडामध्ये दोगडाकेदारका केही वडा र पुर्चौंडी नगरपालिकाका १० वडामा सम्मान कार्यक्रम बाँकी रहेको जनाइएको छ।

यसैबिच आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाका गाउँ–घरमा राजनीतिक गतिविधि तीव्र बन्दै गएका छन । काँग्रेसले सङ्गठन सशक्त बनाइरहेका बेला रास्वपा र राप्रपाले पनि स्थानीय तहमा सङ्गठन विस्तार र संरचना मजबुतीकरणमा जोड दिएका छन्। यससँगै बैतडीका ग्रामीण क्षेत्रमा निर्वाचनको माहोल क्रमशः तात्दै गईरहेको देखिन्छ।
 

कमेन्ट लोड गर्नुस