सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पुसे पन्ध्रको रौनक

२०८२ पुष १५, ११:५६ खबर संवाददाता

बैतडीः बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पुस १५ गते ‘ठूलीरात’ अर्थात् परम्परागत पुसे पन्ध्र पर्व उल्लासका साथ मनाइँदैछ।

वर्षकै सबैभन्दा लामो रात मानिने विश्वासका साथ मनाइने यस पर्वमा रातभर जाग्राम बस्ने, मिठा मिठा परिकार खाएर रमाइलो गर्ने तथा सामूहिक रुपमा गाउँखाने कथा र सांस्कृतिक गतिविधि गर्ने चलन रहिआएको दसरथचन्द नगरपालिका ९ का स्थानीय देवराज जोशीले  बताउए।

स्थानीय संस्कृतिका जानकार देवराज जोशीका अनुसार पुस १५ को रातलाई ठूलीरात मानी डेउडा खेल्ने, मिठा–मिठा परिकार खाने, धार्मिक ग्रन्थ वाचन गर्ने तथा बिहान उज्यालो नहुँदै स्नान गर्ने चलन छ। हुनेहरूले उखु पेलेर रातभर गुड बनाउने, आइना–बातै हाल्ने र गाउँका मानिस एकै घरमा भेला हुने परम्परा पनि कायमै छ। उनले भने, ‘तर पछिल्लो समयमा यी चलनहरू क्रमशः हराउँदै गएका छन्।’

पुसे पन्ध्रका दिन बैतडीका गाउँघरमा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूलसँगै घिउमा पकाइने सेलरोटी र माँडा विशेष परिकारका रूपमा बनाइन्छ। अर्का संस्कृतिविद् हरिदत्त भट्टका अनुसार पुस महिनाको कठ्याङ्ग्रिने चिसोबाट बच्न ऊर्जा दिने खानाको प्रयोग गर्ने परम्परा यस पर्वसँग जोडिएको छ।

यस पर्वका अवसरमा बैतडीका कतिपय स्थानमा वनभोज गर्ने, सामूहिक जमघट गर्ने र रातभर सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने चलन रहिआएको भए पनि आधुनिक जीवनशैली र बदलिँदो सामाजिक संरचनासँगै यस्ता अभ्यासहरू कमजोर बन्दै गएका मेलौलीका नगरपालिका २ का स्थानीय धनुषा भट्टले बताए।

यस्तै, दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका ४ की कमला बोहराका अनुसार पहिलेजस्तो पुस १५ को रौनक अहिले कम देखिन थालेको छ।

पुसे पन्ध्रमा विवाहित छोरीबेटीलाई माइत बोलाई सम्मानपूर्वक स्वागत गर्ने चलन प्रचलित थियो। तर समयसँगै पर्वको सांस्कृतिक मर्म र सामूहिक भावना झल्किने गरी मनाउने परम्परा भने क्रमशः हराउँदै जान थालेको बोहराले बताईन्। खगोलशास्त्रीय रूपमा डिसेम्बर २२ लाई वर्षकै सबैभन्दा छोटो दिन मानिए पनि नेपाली समाजमा भने पुस १५ लाई छोटो दिन र लामो रातको रूपमा बुझ्ने परम्परा रहेको छ। आजदेखि दिन क्रमशः लम्बिँदै जाने र रात छोटिँदै जाने विश्वासका कारण पुसे पन्ध्रलाई मौसमी परिवर्तनको सूचक पर्वका रूपमा लिइन्छ।

कमेन्ट लोड गर्नुस