सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन चक्की समेत किन्न सकेका छैनाैँ : मन्त्री गाैतम
काठमाण्डौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन चक्की समेत किन्न नसकेको बताएकी छन्।
आज बसेको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले खरिद प्रक्रियामा देखिएको समस्याका कारण पछिल्ला दुई वर्षदेखि सुत्केरी तथा गर्भवती महिलालाई आवश्यक पर्ने आइरन चक्की समेत सरकारले किन्न नसकेको बताएकी हुन्।
खरिद प्रणालीमा हुने टेन्डर प्रक्रियामा भाग लिन नपाएका कम्पनीलेहरूले उजुरी दिने लगायतका कारण समस्या आएको मन्त्री गौतमले उल्लेख गरिन्। उनले प्रदेश सरकारहरूले आ–आफूले औषधि खरिद गर्दा पनि समस्या भएको बताईन्। खरिदका क्रममा प्रदेश र सङ्घीय सरकारको मूल्य फरक फरक पर्ने हुँदा प्रश्न उठ्ने गरेको उनको भनाइ छ ।
गौतमका अनुसार टेन्डर प्रक्रियामा प्रदेशले ६० रुपैयाँमा किनेको औषधि केन्द्रमा टेन्डर गर्दा ८२ रुपैयाँ पनि पर्न जान्छ । सरकारले खरिदको ग्यारेन्टी लिएमा औषधि उत्पादकहरूले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) को आधा मूल्यमा औषधि दिनसक्ने बताएको उनको दाबी छ ।
मन्त्री गौतमले स्वास्थ्य बीमा सुधार गर्न खोजिएको पनि जानकारी दिइन्। उनका अनुसार बीमामा कहिले औषधि नपाउने, कहिले लामो लाइन बस्नुपर्ने समस्या छन् । बीमा अनावश्यक रूपमा महँगो बन्दै गएकोले त्यसको लागत, वितरण प्रणाली र सेवामा सुधार आवश्यक रहेको उनको भनाइ छ ।