जिल्ला प्रशासनमा राष्ट्रिय परिचयपत्रको फारम निःशुल्क भर्न सुरु
जुम्लाः जिल्ला प्रशासन कार्यालय जुम्लाले कार्यालयमै राष्ट्रिय परिचयपत्रको फाराम निःशुल्क भर्ने व्यवस्था सुरु गरेको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार सेवा सुधारको प्राथमिकतामा राष्ट्रिय परिचय पत्रको फारम निःशुल्क भर्न सुरु गरिएको जानकारी दिए। उनका अनुसार ‘विशेषगरी आर्थिक अभाव भएका लक्षित वर्गका नागरिकले सेवा लिन आउँदा डर वा आर्थिक बोझ महसुस गर्न नपरोस्’ भन्ने हाम्रो उद्देश्य हो। बाहिर बजारमा फारम चर्को शुल्क तिर्ने नागरिकको समस्या हटाएइएको प्रशासनले जनाएको छ।
आइतबार कार्यालयभित्रै इन्टरनेट, डेस्कटप र कर्मचारी व्यवस्थापन गर्ने निर्णय गरेर सोमबारदेखि निःशुल्क फाराम भर्ने सेवा सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो। उनका अनुसार बिहान १० देखि साँझ ६ बजेसम्म सेवा उपलब्ध छ। आफैँ अनलाइन फाराम भरेर ल्याउनेलाई पनि सहज बनाइनेछ, तर फाराम नबुझेकै कारण कसैलाई फर्काइने भने छैन, भन्ने प्रशासनले जानकारी दिएको छ।
यस अगाडि जिल्ला प्रशासन बाहिरका पसलहरुमा अनलाइन फारम प्रतिव्यक्ति फारम दुई सय शुल्क लिने गरिएको थियो। विपन्न नागरिकले समेत परिचयपत्र भर्नका लागि शुल्क तिनुपर्ने भन्दै व्यापक गुनासो बढेको थियो। यस्तै परिचयपत्रमा भिड घटाउन माग गरिएको थियो। नागरिकको सोही गुनासो अनुसार जिल्ला प्रशासन कार्यालय भित्रै कर्मचारी खटाएर राष्ट्रिय परिचयपत्र फारम भर्न थालिएको हो।
राष्ट्रिय परिचय फाटमा कार्यरत कर्मचारी कृष्णमाया भण्डारीका अनुसार दैनिक ५० देखि ६० जना सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि कार्यालय पुग्ने गरेका छन्। बैंक खाता खोल्न, पासपोर्ट बनाउन र ज्येष्ठ नागरिक भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि सेवाग्राहीको चाप बढ्नु स्वाभाविक कुरा हो। विद्युत् अवरुद्ध हुँदा पनि नागरिकताको फोटोकपी, नयाँ नागरिकता बनाउनेलगायतका सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।
यहाँ नयाँ नागरिकता बनाउन आउने सेवाग्राहीलाई समेत राष्ट्रिय परिचयपत्र फाराम भर्न सहजीकरण गरिनेछ। नागरिकता र विवाह दर्ता प्रमाणपत्र मात्रै लिएर आए पुग्ने व्यवस्था गरिएको छ। कागजपत्र अपुग भएका निमुखा सेवाग्राहीका हकमा सम्बन्धित निकायसँग फोनमार्फत समन्वय गरेर कागजात जुटाइदिने अभ्यास सुरु गरिएको छ। भित्रै फारम भरेर परिचयपत्रका लागि काम सुरु भएपछि सेवाग्राही खुशी भएका छन्। पहिला वाहिर शुल्क लिएर फारम भर्ने भन्थे तर अहिले कार्यालयमै फारम भरेको खुशी व्यक्त गरे। सिंजा गाउँपालिका ६ निवासी सृजना बुढाले पनि फारम निशुल्क भरेको जानकारी दिईन्।