सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक वर्षमा ५ सय विदेशी नागरिक नेपालबाट निष्कासित

२०८२ पुष १८, ०२:१८ खबर संवाददाता

काठमाडौँ: पछिल्लो एक वर्षमा नेपालबाट ५ सय १ विदेशी नागरिक निष्कासनमा परेका छन्। अध्यागमन कानुन उल्लंघन तथा फौजदारी अपराधमा संलग्न उनीहरूलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ।

विभागका निर्देशक टीकाराम ढकालका अनुसार ४ सय ३७ जना भिसा अवधि सकिँदासमेत अवैध रूपमा बसेको (ओभरस्टे) कसुरमा र ६४ जना तोकिएको कैद सजाय पूरा गरेपछि निष्कासनमा परेका हुन्। अघिल्लो वर्ष ४ सय ४ जना विदेशी निष्कासित भएका थिए।

निष्कासनमा पर्नेमा सबैभन्दा बढी १२० जना चिनियाँ नागरिक छन्। उनीहरू सुन तथा विदेशी मुद्रा तस्करी, साइबर अपराध, वन्यजन्तु तस्करी, मानव तस्करी र अवैध म्यारिज ब्युरोजस्ता गतिविधिमा संलग्न रहेको पाइएको छ। बंगलादेशी नागरिक साइबर अपराध र ठगीमा, भने बेलायत र अमेरिकालगायतका केही नागरिक गैरसरकारी संस्थाको आवरणमा जबर्जस्ती धर्म परिवर्तनजस्ता गतिविधिमा जोडिएका छन्।

सन् २०२५ मा ६३ देशका ५ सय १ विदेशी निष्कासनमा परेका छन्। चीनपछि बंगलादेश (७५), अमेरिका (३५), बेलायत (२२) र पाकिस्तान (१८) क्रमशः धेरै निष्कासन हुने मुलुक हुन्। कसुरअनुसार उनीहरूलाई २ देखि १० वर्षसम्म नेपाल प्रवेशमा प्रतिबन्ध लगाइएको छ।

विदेशी नागरिकको गतिविधि प्रभावकारी रूपमा नियमन गर्न अध्यागमन विभागले सन् २०२६ जनवरी १ देखि ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ लागू गरेको छ। यस प्रणालीमार्फत विदेशी नागरिक नेपाल प्रवेशदेखि फर्किंदासम्म कहाँ बस्छन्, के गर्छन् र भिसा कानुन पालना गरेका छन् कि छैनन् भन्ने ‘रियल टाइम’ निगरानी गरिनेछ।

यो प्रणालीमा होटल, ट्रेकिङ एजेन्सी, वायु सेवा, ट्राभल एजेन्सी, बैंक, टेलिकम, विदेशी मुद्रा सटही केन्द्रलगायत सेवा प्रदायकहरू चरणबद्ध रूपमा आबद्ध गरिँदैछ। यसले विदेशी नागरिकको बसाइ व्यवस्थित, कानुनसम्मत र सुरक्षित बनाउने तथा राष्ट्रिय सुरक्षामा समेत सहयोग पुग्ने विभागको दाबी छ।
 

कमेन्ट लोड गर्नुस