सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौमा मानवसेवा आश्रमले उद्धार गर्‍यो २०९ जना, ७० जनाको परिवारसँग पुनर्मिलन

२०८३ असोज ४, ०३:११ खबर संवाददाता

काठमाडौँ: मानवसेवा आश्रमले भदौ महिनामा देशका विभिन्न स्थानबाट २०९ जना सडकआश्रित मानवको उद्धार गरेको छ। आश्रमका अनुसार उद्धार गरिएकामध्ये १ सय ३९ जना पुरुष र ७० जना महिला रहेका छन्।

विभिन्न कारणले सडकमा जीवन बिताउन बाध्य भएका उनीहरूलाई आश्रमले देशभर रहेका आफ्ना शाखामार्फत उद्धार गरी संरक्षणमा राखेको हो। सोही अवधिमा आश्रमले संरक्षणमा रहेका ७० जनाको परिवार खोजी गरी पारिवारिक पुनर्मिलनसमेत गराएको छ।

उद्धार तथा पारिवारिक पुनर्मिलनमा पशुपतिस्थित होल्डिङ सेन्टरले सबैभन्दा बढी ५६ जनाको उद्धार गरेको छ। उक्त केन्द्रले १५ जनालाई परिवारसँग पुनर्मिलन गराएको छ।

त्यस्तै, रुपन्देहीको तिलोत्तमा शाखाले २० जनाको उद्धार र ३ जनाको पारिवारिक पुनर्मिलन गराएको छ। चितवन शाखाले १२ जनाको उद्धार तथा ७ जनाको पुनर्मिलन गरेको छ भने रौतहट शाखाले १२ जनाको उद्धार र १२ जनालाई परिवारसँग पुनर्मिलन गराएको छ।

सुनसरी शाखाले ११ जनाको उद्धार र १० जनाको पुनर्मिलन गराएको छ। बाँके र मोरङ शाखाले समान ९–९ जनाको उद्धार गरेका छन्।

त्यस्तै, रानीवन शाखाले ८ जनाको उद्धार तथा ३ जनाको पुनर्मिलन गराएको छ। सुर्खेतबाट ८ जना, दाङबाट ९ जना, बागलुङबाट ६ जना र कैलालीबाट ६ जना सडकआश्रित मानवको उद्धार गरिएको आश्रमले जनाएको छ।

मानवसेवा आश्रमले विभिन्न कारणले सडकमा जीवन बिताइरहेका सहयोगापेक्षी मानवको खोजी, उद्धार, उपचार तथा संरक्षण गर्दै आएको छ। उद्धार गरिएका व्यक्तिको सम्भव भएसम्म परिवारको खोजी गरी पारिवारिक पुनर्मिलन गराउने कामलाई पनि आश्रमले निरन्तरता दिँदै आएको छ।

हाल आश्रमले २४ जिल्लामा ३५ शाखामार्फत सहयोगापेक्षी सडकआश्रित मानवको खोजी, उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलनको सेवा सञ्चालन गरिरहेको छ।

मानवसेवा आश्रमले वि.सं. २०६९ भदौ १३ गते मकवानपुरको हेटौँडास्थित मुख्य कार्यालयबाट औपचारिक रूपमा सेवा सुरु गरेको थियो।

कमेन्ट लोड गर्नुस