सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभा सदस्य चक्र मल्ल प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा

२०८२ पुष १९, ०४:५६ नारायण अवस्थी

धनगढीः नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्ल प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन्।

डोटीबाट प्रदेश सभा सदस्यमा निर्वाचित मल्लले संघीय संसदमा प्रतिस्पर्धा गर्ने लक्ष्यसहित चुनावी तयारी अघि बढाएका हुन्। हालै सम्पन्न नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका मल्लले प्रतिनिधि सभा निर्वाचनबारे निकटस्थ नेताहरूसँग परामर्शसमेत सुरु गरिसकेका छन्।

मल्लले दिनेशखबरसँग कुराकानी गर्दै पार्टीले निकट दिए प्रतिनिधि सभाको चुनाव लड्ने मनस्थिति बनाएको बताए। उनले पार्टीले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर संघीय सांसदको निर्वाचन लड्नु पर्छ भने उम्मेदवार हुने मनस्थितिमा पुगेको बताए। 'पार्टीले निर्णय गरेमा मेलै प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बन्ने मनस्थिति बनाएको छु। पार्टीको निर्णय भने भएको छैन। पार्टीले हुन्छ भने उम्मेदवार बन्ने नै हो,' उनले भने।

चक्र मल्ल २०७९ सालको निर्वाचनमा डोटी प्रदेश सभा (१) बाट निर्वाचित भएका थिए। उनले नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्रबहादुर सिंहलाई ४५० मतान्तरले पराजित गरेका थिए। मल्लले १५ हजार २७९ मत प्राप्त गर्दा सिंहले १४ हजार ८२९ मत ल्याएका थिए।

एमाले डोटीको नेतृत्व गरिसकेका मल्ल कुशल संगठकका रूपमा परिचित छन्। उनले २०६९ सालमा डोटी बहुमुखी क्याम्पसको विभागीय प्रमुख पदबाट राजीनामा दिएर पार्टीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उनी लगातार तीन कार्यकाल जिल्ला अध्यक्ष बनेका थिए। मल्लको राजनीतिक यात्रा २०५० सालबाट विद्यार्थी राजनीतिबाट सुरु भएको हो। उनी दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष बनेका थिए भने २०५७ सालमा डोटी बहुमुखी क्याम्पसको स्ववियु सभापति समेत भएका थिए।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस