अमेरिकाद्वारा भेनेजुएलामा सैन्य आक्रमण, राष्ट्रपति मादुरो पक्राउ गरिएको ट्रम्पको दाबी
काठमाडौं: अमेरिकाले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा सैन्य आक्रमण गरेको छ। लामो समयदेखि चिसिएको सम्बन्धका कारण पछिल्ला महिनाहरूमा दुई देशबीच कूटनीतिक तनाव चरम अवस्थामा पुगेको थियो। कूटनीतिक सम्बन्ध विच्छेददेखि आपसी प्रतिबन्धसम्म पुगेको अवस्थाबीच शनिबार बिहानदेखि अमेरिकाले भेनेजुएलामा आक्रमण सुरु गरेको हो।
भेनेजुएलाको राजधानी कराकाससहित मिरान्डा, अरागुआ र लाग्वाएरा सहरमा अमेरिकी सेनाले आक्रमण गरेको जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको दाबी गरेका छन्।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार मादुरोलाई पक्राउ गर्न अमेरिकी सेनाको विशेष बलले लक्षित अपरेसन सञ्चालन गरेको हो। अमेरिकाले मादुरोको लागुऔषध कारोबारमा संलग्न व्यक्ति तथा विभिन्न आपराधिक समूहसँग सम्बन्ध रहेको आरोप लगाउँदै आएको छ। साथै अमेरिकालाई नोक्सान पुर्याएका केही आतंकवादी गतिविधिमा समेत उनको संलग्नता रहेको दाबी अमेरिकी पक्षको छ।
मादुरोलाई नियन्त्रणमा लिएपछि भेनेजुएलामा थप क्षति हुन नदिइने अमेरिकाले जनाएको छ। पक्राउ परेका मादुरोविरुद्ध आपराधिक मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइनेसमेत बताइएको छ।
यसअघि पनि अमेरिकाले सन् १९८९ मा पानामाका सैन्य शासक म्यानुएल आन्टोनियो नोरिएगालाई यस्तै सैन्य कारबाहीमार्फत पक्राउ गरेको इतिहास रहेको छ।