सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको खप्तडछान्नाका पूर्वअध्यक्ष रोकायासहित ६ जना भ्रष्टाचारमा दोषी ठहर,छ महिना कैद

२०८२ पुष २१, ०१:०५ जयन्त सिंह भाट

धनगढी । सिँचाइ आयोजनामा नक्कली कागजात तयार पारेर सरकारी रकम दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालत काठमाण्डौले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित ६ जनालाई दोषी ठहर गरेको छ।

सिम्लस्थित घट्ट सिँचाइ कुलो निर्माण कार्यमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको थियो। अदालतले अभियोग पुष्टि हुने ठहरसहित सबै प्रतिवादीलाई कैद र जरिवानाको सजाय सुनाएको हो।

यो मुद्दामा विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच फैसला गर्ने विषयमा राय बाझिएको थियो। राय नमिलेपछि मुद्दा आइतबार तेस्रो न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा पेश गरिएको थियो। सिंहले प्रतिवादीहरू दोषी हुने ठहर गरेको रायमा श्रेष्ठले समर्थन जनाएपछि बहुमतका आधारमा फैसला भएको अदालत स्रोतले जनाएको छ।

अदालतबाट दोषी ठहर हुनेमा खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकाया, वडा नं. ४ का तत्कालीन वडाध्यक्ष भिमबहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, इन्जिनियर सुरेन्द्रबहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर तथा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया रहेका छन्।

विशेष अदालतले सबै दोषी ठहरिएकालाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। उनिहरु विरुद्द आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा कामै नगरी २०७७/७८ मा भुक्तानी लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा काम नै नभएको र घट्ट सिँचाइ योजना नरहेको पाइएपछि आयोगले जनही १४ लाख ८ हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा मदयर गरेको थियो।  

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस