खडेरीले बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा गहुँबाली सुक्दै
बैतडी: लगातारको खडेरीका कारण बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा गहुँबाली सुक्न थालेको छ। यस वर्ष हिउँदे वर्षा नहुँदा गहुँखेतीमा गम्भीर असर परेको किसानहरूले बताएका छन्। पुसको अन्तिम साता लागिसक्दा समेत पानी नपरेपछि खेतमा लगाइएको गहुँबाली सुक्दै गएको हो।
दशरथचन्द नगरपालिका–१ का किसान कृष्णदत्त भट्टका अनुसार लामो समयदेखि खडेरी परिरहेकाले गहुँबाली सुकिसकेको छ। “यो वर्ष खडेरीका कारण गहुँबाली सुकेको छ, धेरै खेत बाँझै भएका छन्। अब गहुँबाली नहुँदा के खाने भन्ने चिन्ताले सताउन थालेको छ,” उनले भने।
सिँचाइ सुविधा नभएका क्षेत्रहरूमा खडेरीको प्रभाव बढी देखिएको किसानहरूको भनाइ छ। पाटन नगरपालिका–४ चिल्लेपानीका जयबहादुर ऐरीले सिँचाइको अभावकै कारण खेतमा लगाएको गहुँबाली सुक्न थालेको बताए। उनका अनुसार अधिकांश गहुँबाली नष्ट भइसकेको छ र तत्काल वर्षा हुने कुनै संकेत नदेखिएकाले यस वर्ष गहुँ उत्पादनमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ।
लगातारको खडेरीले गहुँबाली सुक्दै गएपछि भोकमरीको चिन्ता बढेको पाटन नगरपालिका–४ कै नारद ऐरीले बताए। खडेरीका कारण जनजीवनसमेत प्रभावित भएको उनको भनाइ छ।
सिँचाइ सुविधा नभएका उच्च लेकाली तथा हिमाली क्षेत्रमा गहुँबाली सुक्ने समस्या झनै गम्भीर बनेको छ। हिमपात हुने समयमा समेत पानी नपरेपछि बालीनाली राम्रोसँग हुर्कन नपाएको किसानहरूले बताएका छन्।
किसानहरूका अनुसार बर्खेबाली मध्येको मकैमा हरेक वर्ष जंगली जनावरले क्षति पु¥याउने गरेकाले उत्पादन घट्दै आएको छ भने हिउँदमा खडेरीका कारण गहुँ उत्पादनमा समेत कमी हुँदै आएको छ।
कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीका अनुसार जिल्लामा करिब १५ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदै आएको छ, जसमध्ये आधाभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा छैन। “सिँचाइ सुविधा नभएका क्षेत्रमा खडेरीको प्रभाव बढी परेको छ। लगातारको खडेरीले गहुँ उत्पादनमा ह्रास आउने सम्भावना देखिएको छ,” उनले भने।
गहुँबाली उम्रेको २१ दिनभित्र सिँचाइ आवश्यक पर्ने भए पनि सिँचाइको अभावका कारण किसानहरू समस्यामा परेका छन्। खडेरीका कारण हिउँदेबालीको उत्पादन घट्ने र त्यसको असर खाद्यान्न आयात वृद्धिमा पर्ने देखिएको छ।
यस्तै, दार्चुलाका अधिकांश स्थानमा पनि खडेरीका कारण हिउँदेबाली सुक्दै गएको छ। स्थानीयका अनुसार गहुँ, जौ, उवा लगायतका बालीहरू सुक्न थालेका छन्।