रास्वपाको केन्द्रीय सचिवालय बैठक बस्दै
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय चमतीमा बस्ने बैठकमा आगामी निर्वाचन र संगठन विस्तारसँग सम्बन्धित विभिन्न एजेन्डाहरूमा छलफल हुने जनाइएको छ।
पार्टी प्रवक्ता मनिष झाले बताएअनुसार बैठकमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति, उम्मेदवार सिफारिस उपसमिति विस्तार र पार्टी समायोजन उपसमिति विस्तारका विषयमा चर्चा हुने छ।
साथै बैठकमा केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन र समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि लगायतका विषयमा पनि छलफल हुँदैछ। बैठकको कार्यसूचीमा निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम र स्थानीय तह उम्मेदवार क्लब गठनसम्बन्धी विषयहरू पनि समावेश छन्।