सुदूर नेपाललाई विश्वसँग जोड्दै

जलवायु परिवर्तनको जाेखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

२०८३ भदौ ३०, ०४:२५ खबर संवाददाता

काठमाण्डाैः प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताएका छन्। 

प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाएकाे शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधानलगायतका विषयमा विश्वसमुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेकाे शुभकामना सन्देशमा उल्लेख छ ।

यसैगरी जलवायु परिवर्तनले नेपालको हिमाली, पहाडी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको भनाइ छ ।

विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पग्लिने, हिम चट्टान टुक्रिने, हिमालहरू फुट्ने, हिमनदीहरूको बहाव बढ्ने, पानीका मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउनेलगायतका समस्याहरू हिमाली क्षेत्रसहित समग्र नेपालीले भोग्नुपरेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधितामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहले बताएका छन्। 

हिमाली जिल्ला मुस्ताङको जोमसोममा ‘घरपझोङ जलवायु सम्मेलन’ आयोजना भएकामा खुशी व्यक्त गर्दै उहाँले जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा सङ्घ, प्रदेश र पालिकाबीच बलियो सहकार्य हुन आवश्यक रहेको उल्लेख गरेका छन्।  

घरपझोङ गाउँपालिकाले आयोजना गरेको दुई दिने सम्मेलनको आज कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी थिइन्।

सम्मेलनमा देशभरका धेरैजसाे गाउँपालिकाका प्रमुख तथा नगरपालिकाका मेयर एवम् जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ ।

हिमपहिरोबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले अपूरणीय जनधनसहित भौतिक सम्पत्तिको क्षति पुर्‍याएको तथा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रमसहित व्यापक तयारी भइरहेको अवस्थामा याे सम्मेलनलाई महत्त्वका साथ हेरिएको छ ।

कमेन्ट लोड गर्नुस