चैतन्य दोस्रो विद्यार्थी महोत्सवः दोस्रो दिन प्रेरणादायी बहस, सम्मान र खेल सप्ताहको शुभारम्भ
धनगढी: “ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवपरिवर्तनको प्रवाह” भन्ने मूल भावका साथ शुभारम्भ भएको चैतन्य दोस्रो विद्यार्थी महोत्सवको दोस्रो दिन विविध शैक्षिक, बौद्धिक तथा खेलकुद गतिविधिसहित सम्पन्न भएको छ।
महोत्सवको दोस्रो दिन सुदूरपश्चिम प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का प्रमुख अतिथिको रूपमा सहभागी थिइन्। त्यस्तै, नयाँ दिल्लीबाट आएका करियर काउन्सिलर डाक्टर मोहित वंशल प्रेरक उपस्थितिका रूपमा कार्यक्रममा सहभागी थिए।
प्राज्ञिक बहस सत्रमा उत्प्रेरक वक्ताका रूपमा डाक्टर मोहित वंशलले व्यक्तित्व तथा जीवन निर्माणका विविध पक्ष, विद्यार्थीको लक्ष्य निर्धारण र व्यक्तित्व विकासका विषयमा गहिरो संवाद गरेका थिए।
कार्यक्रमकै अवसरमा अनुकरणीय तथा प्रेरणादायी युवा सम्मान अन्तर्गत प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष भूपेश जोशी, न्यू संजीवनी मोबाइल एण्ड सप्लायर्सका सञ्चालक तथा योग साधक सुभाष बम, सञ्चारकर्मी मानमती बखरिया तथा कथावाचक सत्यराज अवस्थीलाई सम्मान गरिएको छ।
आजदेखि नै चैतन्य पाठशालाको खेल सप्ताहको पनि शुभारम्भ गरिएको छ। सामाजिक विकास राज्यमन्त्री खड्काकै प्रमुख आतिथ्यतामा खेल सप्ताह उद्घाटन गरिएको हो। चैतन्य पाठशालाको खेल मैदानमा सम्पन्न उद्घाटन कार्यक्रममा पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी, निर्देशक कटकबहादुर सिंह र सह–प्रधानाध्यापक सपना सिंह उपस्थित थिए।
खेल सप्ताहको उद्घाटन समारोहमा बोल्दै मन्त्री खड्काले चैतन्य पाठशालाले सुदूरपश्चिममै नमुना विद्यालयको रूपमा उदाहरणीय कार्य गरिरहेको उल्लेख गर्दै यसको खुलेर प्रशंसा गरेकी छन्। उनले विद्यार्थीलाई किताबमा सीमित ज्ञानभन्दा पनि रुचि, सीप र दक्षता अनुसारको शिक्षा प्रदान गर्न सकेमा भविष्यमा विद्यार्थी सफल हुने बताइन्।
शिक्षासँगै विद्यार्थीभित्रको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने चैतन्य पाठशालाको प्रयासप्रति आफू नतमस्तक रहेको उनले बताइन्।
महोत्सवको दोस्रो दिन अन्तर्विद्यालय स्तरीय पुस्तक समीक्षा प्रतियोगिता र चित्रकला प्रतियोगिता समेत सम्पन्न भएका छन्। पुस्तक समीक्षा प्रतियोगिताको निर्णायक मण्डलमा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक डाक्टर वासुदेव बिष्ट, सीताराम भट्ट र तेज पुरुष रहेका थिए।
प्रतियोगितामा ग्ली एकेडेमीकी आयुषा बिष्ट प्रथम, रिज एकेडेमीकी समीक्षा भट्ट द्वितीय र एक्सिस विद्या आश्रमकी नम्रता बिष्ट तृतीय हुन सफल भएका छन्।
यसका साथै फार्मेसी, इन्जिनियरिङ तथा आर्किटेक्चर डिपार्टमेन्ट, दिल्लीबाट आएको टोलीले स्टिम प्रदर्शनी समेत प्रस्तुत गरेको थियो। टोलीमा दिपान्सु, दुसेन्त मौर्या, अग्रीम राज, अनुज र हर्ष रहेका थिए। उक्त टोलीले चैतन्य पाठशालाका विद्यार्थीहरूलाई विभिन्न स्टिम प्रविधिबारे जानकारी दिनुका साथै निर्माण अभ्यास समेत गराएका थिए।
कार्यक्रममा बोल्दै चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले महोत्सवलाई सफल बनाउन शिक्षाप्रेमी, खेलप्रेमी, समाजसेवी तथा अभिभावकहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सहयोगका लागि अनुरोध गरेका छन्। उनले महोत्सव २९ गतेसम्म सञ्चालन हुने भएकाले सहभागी भई अवलोकन गर्न सबैलाई आग्रह गरेका छन्।