सुदूर नेपाललाई विश्वसँग जोड्दै

उप–प्राध्यापक जोरालाई ‘चैतन्य प्रेरणादायी उत्कृष्ट शिक्षा सेवी सम्मान’

२०८२ पुष २५, ०६:५२ खबर संवाददाता

धनगढीः चैतन्य पाठशालामा जारी चैतन्य दोस्रो विद्यार्थी महोत्सव–२०८२ को अवसरमा कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक डा.मानबहादुर जोरा लाई 'चैतन्य प्रेरणादायी उत्कृष्ट शिक्षा सेवी सम्मान' प्रदान गरिएको छ। शिक्षा सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउँदै गुणस्तरीय उच्च शिक्षाको प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याएको कदर स्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

महोत्सवको चौथो दिन विशेष समारोहका बिच चैतन्य पाठशालाको तर्फबाट डा. जोरा लाई मायाको चिनो, सम्मान–पत्र र दोसल्ला प्रदान गर्दै सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका डा. चिन्तामणिनाथ योगी विशिष्ट अतिथि सहायक जिल्ला प्रमुख अधिकारी किरण जोशीले उनलाई सम्मान पत्र सहित सम्मानित गरेका हुन्।

डा. जोरा सुदूरपश्चिममै रहेर लामो समयदेखि शिक्षण, अनुसन्धान तथा शैक्षिक मार्गदर्शनमा सक्रिय रहँदै विद्यार्थीहरूको बौद्धिक, नैतिक तथा व्यवहारिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । कक्षाकोठाभित्र मात्र सीमित नरही अनुसन्धान, परामर्श तथा जीवनोपयोगी मार्गदर्शनमार्फत विद्यार्थीलाई जिम्मेवार र सक्षम नागरिक बनाउने प्रयास उनको विशेष पहिचान बनेको छ।

सम्मान ग्रहण गर्दै डा. जोराले 'शिक्षा भनेको केवल पाठ्यक्रम पूरा गर्नु मात्र होइन, यो सोच, चरित्र र जिम्मेवारी निर्माण गर्ने प्रक्रिया भएको र हामीले विद्यार्थीलाई सही मार्गदर्शन दिन सक्यौँ भने समाज स्वतः रूपान्तरणतर्फ जाने बताए।'

उनले सुदूरपश्चिमजस्तो क्षेत्रमा उच्च शिक्षाको पहुँच, गुणस्तर र अनुसन्धानको संस्कृतिलाई अझ सुदृढ बनाउन सबै सरोकार बालाबिच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै युवा पुस्तालाई अध्ययन र नवप्रवर्तनतर्फ केन्द्रित हुन आग्रह गरे।

विद्यालयदेखि क्याम्पस तहसम्म शिक्षामा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्नु विद्यार्थीमा शिक्षा प्रतिको सम्मान र प्रेरणा बढाउने महत्त्वपूर्ण माध्यम भएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए।

आयोजकका अनुसार आगामी दिनहरूमा पनि शिक्षा, अनुसन्धान, सामाजिक सेवा, प्रविधि तथा उद्यमशीलताका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

कमेन्ट लोड गर्नुस