गाईपूजामा गौशाला पुगेरै भक्तिभाव, अरू दिन सडकमा
धनगढीः कैलाली र कञ्चनपुरमा दूध दिन छाडेका गाईलाई घरमा पाल्न छाडेर सार्वजनिक सडकमा अलपत्र छाड्ने प्रवृत्ति बढ्दै गएको छ। तर, वर्षभरि संरक्षण र हेरचाहबाट वञ्चित हुने तिनै गाईलाई तिहारको गाईपूजाका दिन भने श्रद्धापूर्वक पूजा गर्ने गरिन्छ। घरघरमा गाई पाल्ने चलन घट्दै गएपछि पछिल्लो समय गाईपूजाका लागि नागरिकहरू गौशाला पुग्ने गरेका छन्।
कुनै समय अधिकांश हिन्दु परिवारमा गाई पाल्ने चलन थियो। तर, सहरीकरण र एकल परिवारको बढ्दो प्रचलनसँगै घरमा गाई पाल्ने परम्परा हराउँदै गएको छ। घरमा गाई नहुँदा गाईपूजाका दिन गौशाला पुगेर पूजा गर्नेहरूको संख्या बढेको छ। धनगढीकी मेघा भट्ट पनि गाईको पूजा गर्न गौशाला पुगेकी थिइन्। पहिले घरघरमा गाई पाल्ने चलन भए पनि अहिले त्यो क्रम घट्दै गएको उनको अनुभव छ।
धनगढीकी भृकुटी कार्कीले पनि यसवर्ष गौशालामै पुगेर गाईको पूजा गरिन्। संयुक्त परिवारमा रहँदा घरमै गाई पाल्ने गरिए पनि एकल परिवारमा बस्न थालेपछि गाई पाल्न छाडेको उनी बताउँछिन्।
हिन्दु धर्ममा गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको गाईको संरक्षण भने पछिल्लो समय चुनौतीपूर्ण बन्दै गएको छ। बजारका सडक, गल्ली र चोकमा गाईका हुल देखिने गरे पनि तिनको उचित व्यवस्थापन हुन सकेको छैन। गाईपूजाका दिन मात्रै पूजा गरेर नभई वर्षभरि नै गाईको संरक्षण र हेरचाह गर्नुपर्ने धनगढीकी कृष्णमाया कार्की बताउँछिन्। सार्वजनिक स्थानमा गाई छाड्ने प्रवृत्ति रोक्न सरकारले आवश्यक मापदण्ड र नियम लागू गर्नुपर्ने उनको सुझाव छ।
धनगढीकी सुशीला थापा कार्कीका अनुसार गाई धार्मिक कार्यसँगै पितृकार्यमा समेत महत्त्वपूर्ण मानिन्छ। गाईको दूध र गौमूत्रलाई धार्मिक रूपमा पवित्र मान्ने प्रचलन छ । परापूर्वकालदेखि नै मानिसको मृत्युपछि वैतरणी नदी पार गर्न गाईले सहयोग गर्ने धार्मिक विश्वाससमेत रहँदै आएको छ।
तर, धार्मिक आस्था र परम्परासँग जोडिएको गाईलाई दूध दिन छाडेपछि सडकमा अलपत्र छाड्ने प्रवृत्ति बढ्दो छ। सार्वजनिक रूपमा छाडिएका गाईका कारण सडक दुर्घटना हुने, कतिपय अवस्थामा मानिसले ज्यानसमेत गुमाउनुपर्ने तथा किसानले खेतीबालीमा क्षति बेहोर्नुपर्ने अवस्था छ।